आज मंसिर ७ गतेका दिन हरिबोधिनी एकादशी अर्थात ठूली एकादशी लाई हिन्दु धर्मालम्बीहरुले धुमधामसंग मनाएका छन् ।

वैज्ञानिक रुपमा पनि अति उपयोगी रहेको तुलसीलाइ हिन्दु धर्मशास्त्र अनुसार धार्मिक र सांस्कृतिक महत्व भएकाले यस दिनलाई धार्मिक कोणबाट हरिबोधिनी एकादशी मानिएको मान्यता छ ।

एकादशीको दिन अन्न ग्रहण गर्न नहुने भगवान विष्णुलाई अक्षता नचढाइँने एकादशीका व्रत बस्नेले अन्न ग्रहण नगर्ने चलन छ ।

भविष्य पुराणका अनुसार अन्य एकादशीमा भन्दा हरिबोधनी एकादशीको दिनमा गरिने विष्णु भगवानको उपासना धेरै फलदायी मानिएकाले हिन्दू धर्मावलम्बीहरूले बिहानै नुवाईधुवाई गरी व्रत बसेर भगवान विष्णुको पूजा आराधना गर्छन् ।

हरिबोधनी एकादशीको दिनमा नेपालका विभिन्न धार्मिक स्थलहरूमा मेला लाग्दछ ।

आज बिहानै देखि मकवानपुरमा पनि बिभिन्न स्थानसंगै भीमफेदी गाउँपालिकाको त्रिखण्डीमा भक्तजनहरुको भिड लागेको थियो ।

हेटौंडा उपमहानगर नजिकै रहेको  भिमफेदी गाँउपालिका – त्रिखण्डीमा मेला हेर्न आउनेहरुको भिड लागेको हो भने त्रिखण्डी व्यावस्थापन समितिद्धारा भक्तजनहरुको व्यवस्थापन मिलाइएको हो ।

जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरले पनि सार्वजनिक सूचना जारी गरेर उक्त क्षेत्रमा आजका दिनमा मादक पदार्थको बिक्री बितरणमा समेतपूर्ण रोक लगाएको थियो ।

जिल्ला प्रहरी मकवानपुरको नेतृत्वमा सुरक्षा व्यवस्थापनका लागि प्रहरीहरु खटिएका थिए भने सवारी चाप र दुर्घटना नहोस भन्नका लागि मकवानपुर ट्राफिक प्रमुख बसन्त आचार्य सहितको टोली सवारी आवतजावत र भक्तजनहरुको लागि सहज व्यवस्थामा खटिएका थिए ।

१ वर्षमा पर्ने २४ वटा एकादशीमध्ये सबभन्दा ठूलो एवम् महत्वपूर्ण मानिने आजको हरिबोधिनी एकादशीका दिनमा भगवान् विष्णुको उपासनाले फलदायी हुने धार्मिक मान्यता रहेको मेला भर्न आउनेहरु बताउछन् ।

हरिशयनी एकादशीमा रोपिएको तुलसीको बिरुवा हरिबोधिनी तुलसीको मठको चारैतर्फ बाँसको लिंगो गाडेर रगंरोगन सहित श्रृंगारेर जप गरेर तुलसीको होम लगाइ पिपलसंग विवाह गरिदिने रुद्रि पुजा गरि नयाँ धानको चामल कुटेर दही, सख्खर मिश्रणगरि न्वागी चढाउने र प्रसादका रुपमा ग्रहण गर्ने र गाउँने रमाउने चलन छ।

आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा बिराजमान रहेको र भगवान् विष्णु आजका दिन उठ्नुहुने पुराणमा उल्लेख गरिएको धर्मगुरुहरु बताउछन्।

भगवान् कृष्णले युधिष्ठिरलाई यसै दिनमा गरिने स्नान, दान, तप आदिले आफु र आफ्नो परिवारजनमा फलदायी हुने कुरा बताएको कारण पनि विष्णुको उपासना गर्ने पर्वका रुपमा मान्दै आएको बताउछन् ।