हिन्दु नेपालीहरुको महान अनि मुख्य चाड विजया दशमी २०८० बडा दशैको मुख्य दिन नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै दशैं मनाइने तयारीमा   हिन्दु नेपालीहरु रहेका छन् ।

टीकाको साइत कार्तिक ७ गते मंगलवार बिहान ११ बजेर ०२ मिनेटको समय उत्तम रहेको छ ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक बिहान १० बजेर ३७ मिनेटमा देवी बिसर्जनको साइत रहेको छ भने टीका विभिन्न देश अनुसारको शुभ साइत रहेसंगै नेपालमा रहेकाहरुका लागि बिहान ११ बजेर २ मिनेटको समय उत्तम साइत रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको हो।

आश्विन शुक्ल दशमीका दिनमा  मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ ।

कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।

देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद लिने चलन भएपनि केही स्थानमा विजया दशमीका दिनमात्र टीका थाप्ने गरिएको छ ।

नेपालमा राष्ट्रिय चाडका रूपमा दशैं मनाइदै आइएको कारण विभिन्न पेशा र व्यवसायका लागी कोशौ टाढा पुगेकाहरुपनि मान्यजनको आशीर्वाद थाप्न घर फर्कने गर्छन् ।

त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक मान्यता छ ।

असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइने बडादसैँको सबैभन्दा महत्त्वपूर्ण दिनमा घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूपमा  लगाउने गरिन्छ ।