मकवानपुरको मनहरी गामउँपालिका–३स्थित नयाँबस्ती डिपाट गाउँमा शनिबार दुई ट्रक एकआपसमा ठोक्किँएर ट्रकमा आगलागी हुँदा जलेर तीनजनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा परेर चितवनको राप्ती नगरपालिका ८ बस्ने अन्दाजी २८ वर्षीय रिहान रुम्बा तामाङ, गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर २ स्थित गोर्दीटार बस्ने २१ वर्षीय सुमन चेपाङ र मकवानपुरको मनहरी ३ बस्ने २० वर्षीय अमृत प्रजाको मृत्यु भएको हो ।

ट्रकमा सवार रहेका चितवन राप्ति –३ बस्ने ३५ वर्षका विवेक तामाङ, मकवानपुर मनहरी–३ बस्ने ३२ वर्षिय ट्रक चालक अर्जुन कुमार प्रजा गम्भिर घाइते भए ।  उपचारका लागि उनीहरुलाई भरतपुर अस्पताल लगियो ।

यता मृत्यु हुनेको शवलाई पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याइयो ।  मृतहरुको शवलाई पोष्टमार्टमका लगि अस्पतालमा ल्याइएपनि शवको पोष्टमार्टम भने हुन सकेन ।

हेटौंडा अस्पतालमा बसेका ३ जिल्लाकै मृतकका आफन्तहरुले हेटौंडा अस्पताल  जिम्मेवार नभएको बताएका छन् ।

गोरखा, चितवन र  मकवानपुरका मृतकको आफन्तहरुले शवको पोष्टमार्टम पछि लिएर जाने भन्दै गर्दा रातपरेपछि हेटौडामा पोष्टमार्टम नगरिने जानकारी दिएर अस्पताल गैर जिम्मेवार भएको आफन्तहरुको भनाइ छ ।

अस्पतालले गर्नुपर्ने कर्तव्यबाट पछि सरेर  धोका दिएको भन्दै मृतकको आफन्तहरुले दुःख पोखे ।

शवको पोष्टमार्टम पछि लिएर जाने भन्दै अस्पताल परिसरमा बसेका मृतकको आफन्तले भने  “अहिले सम्म अस्पतालले केही भनेन् । हामीले आफ्नो मान्छे त गुमायौं । पिडानै पिडा लिएर दिनभर कुरेर बस्यौं । विहानै हेटौंडामा पोष्टमार्टम गरिदैन भन्नुपर्नेमा चुपचाप रहेर राती आएर पोष्टमार्टम नगरी भरतपुर लैजानु भनियो ।  यो अस्पतालको भवन मात्रै ठूलो रैछ । दिनुपर्ने सेवा भने यस्तो !  पिडित माथि  पिडा थपियो । हामीलाई हेटौंडा अस्पतालले धोका दियो ।”