नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजना तथा मनहरी गाउँपलिकाको समन्वयमा जनप्रतिनिधि र सञ्चारकर्मीबीच बिहीबार अन्तरक्रिया भएको छ ।

सोही अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले पालिकालाई भ्रष्टाचारमुक्त बनाउने बताएका छन् ।

उनले आफु निर्वाचित भएपछि वचन अनुसार जनताको काम गर्न तत्पर रहेको र पालिकालाई सुसान बनाउन र अनियमितता रोक्ने प्रतिवद्धता जनाए ।

अन्तरक्रियामा मनहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले गाउँपालिकाले चालु आर्थिक वर्षमा गरिरहेका काम र आगामी वर्षको कार्य योजनका बारेमा जानकारी गराए ।

शिक्षा तर्फ विनियोजित बजेट खर्च ८० प्रतिशत योजना तर्फ २७४ वटा योजना मध्ये २५५ वटा सम्झौता भइसकेको र पूर्वाधार तर्फ ठेक्कामा सञ्चालित सम्पन्न योजनाहरुको जानकारी दिए ।

उनले बताए अनुसार खानेपानीका कामहरु वडातहमा हुने स्वास्थ्य ईकाइका भवनहरु निर्माणको अन्तिम चरणमा रहेका छन् ।
१५ शैयाको मनहरी अस्पताल संघीय सर्शत बजेट भएतापनि जग्गा प्राप्त नभएकाले कार्य रोकिए छ।

स्वास्थ्य क्षेत्रमा ओपिडी सेवा विस्तार मनहरी अस्पतालमा गरिएको भन्दै श्रेष्ठले भने गर्भवती, विद्यालय छात्रा, जेष्ठ नागरिक लक्षित स्वास्थ्य कार्यक्रम, आँखा सम्बन्धी कार्यक्रम, सुत्केरी भेटघाट कार्यक्रमहरु गर्दै आइरहेको बताए ।

सोहीक्रममा सञ्चारकर्मीले गाउँपालिकाको गतिबिधि, केही अनिमियतता र बेरुजु र बिभिन्न गतिबिधि सम्बन्धि प्रश्न गरेका थिए ।

काम कार्वाहीमा आफुबाट केही कमी कमजोरीहरु भएमा औंल्याइदिन आग्रह गर्दै कार्यकालभरी सकेसम्म राम्रा कार्य गर्ने तर, नराम्रो केही नगर्ने अध्यक्ष कालालाखेतीले बताएका हुन् ।

कालाखेतीले भने “म  पालिकामा कमाउन आएको होइन, जनताको काम गर्न आएको हुँ  ।आफ्नो सेवा सुबिधा त्यागेर काम गरेको छु  । मैले गलत गरेको छैन त्यस कारण डर छैन ।”

नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षता मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मनहरी ९ र ३ का वडाध्यक्ष सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।