मकवानपुरको बागमती गाउँपालिकामा पाँचौ बागमती गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिताको पाँचौ संस्करण यही आँउदो पुष २४ गतेदेखि माघ ३ गतेसम्म जनता माविको खेल मैदान फापरवारीमा हुने भएको आयोजक रहेको बागमती गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ ।


प्रतियोगितामा सहभागी हुन दर्शकहरुको लागि टिकटको व्यवस्था गरिएको छ भने प्रतियोगिताको तयारीलाई तीव्र पारिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा करिब ७१ लाख लागत हुने अनुमान रहेको र गाउँपालिकाबाट ३५ लाख प्राप्त हुने तथा अन्य खर्च प्रदेश खेलकुद परिषद्, राष्ट्रिय खेलकुद परिषद्, प्रायोजक, विभिन्न व्यक्ति तथा संस्थाहरुबाट सहयोगको लागि अनुरोध भैरहेको जानकारी गराइएको हो ।

शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै खेलकुद स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि भन्ने नाराका साथ बागमती गाउँपालिकाको मुख्य प्रायोजन तथा समितिको आयोजनामा प्रतियोगिता गरिन लागेको संयोजक टीकलाल श्रेष्ठले बताए ।

प्रतियोगितामा बिजेताले नगद ८ लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने र उपबिजेताले नगद ४ लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने संयोजक श्रेष्ठले जानकारी दिएका हुन् ।

संयोजक श्रेष्ठले जानकारी दिए अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र, विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही नगद १०,१० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउने छन् ।

हरेक खेलको म्यान अफ द म्याच खेलाडीले नगद ५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगितामा एक विदेशी, ७ वटा ए डिभिजन क्लव र २ वटा मोफसलको क्लवको सहभागिता रहने छ भने आयोजक बागमती क्लब सहित त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, एपिएफ क्लब,मछिन्द्र युवा क्लब,हिमालय शेर्पा युवा क्लब, चर्च ब्याइज युनाईटेड, मकवानपुर हेटौंडा ११,जाउलाखेल युथ क्लब र भुटनिज युथ स्पोर्ट्स क्लबको सहभागिता रहने छ ।

प्रतियोगिताको २०७८ को चौथो संस्करण अफ्रिकन स्ट्स एशोसिएसन क्यामरुनलाई हराउँदै विजयी भएको टोली पाचौ संस्करणमा सहभागी नहुने भएको छ ।