गौरिटार । हेटौंडा–६,स्थित गौरिटार रंगशालामा शुक्रबारबाट तेस्रो संस्करणको १५ नम्बर वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । वडा खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा जीत निकाल्दै साविक चुरियामाइ–३ सेमीफाइनलमा प्रवेश गरेको छ । साविक चुरियामाइ–८ लाई ३–१ गोलले साविक चुरियामाइ–३ ले सहजै पराजित गरेको छ ।
खेलको म्यान अफ द म्याच चुरियामाइ ३ का असिम लामा घोषित भएका छन् ।वडा खेलकुद विकास समितिका अध्यक्ष गोविन्द नेगीको सभाध्यक्षमा तथा वडाध्यक्ष सुनिल मोक्तानको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन भएको थियो ।
प्रतियोगिताको फाइनल खेल असार १६ गते हुनेछ । प्रतियोगिता सम्पन्न गर्नका लागि ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । दोस्रो संस्करणको अन्तरवडास्तरीय फुटबल प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाका १७ वटा वडाहरुको सहभागिता रहेको थियो भने १२ नम्बर वडा उपाधि विजेता बनेको थियो ।
प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।























प्रतिक्रिया दिनुहोस्