स्थानिय निर्वाचनको दिन नजिकिँदै जाँदा दलहरु आफ्ना उम्मेदवार छनौटको प्रारम्भीक गृहकार्यमा व्यस्त देखिन्छन् । गठबन्धनले आपसि सहकार्य, सहयोग र स्थान अनुसार गठबन्धनभित्रै तालमेल गर्न निर्देशन दिँदै आज संयुक्त अपील जारी गरेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको शिर्ष बैठकमा तालमेलको मोडालिटिबारे छलफल गर्दै यस्तो अपील जारी गरिएको हो ।

सत्ता गठबन्धनका पाँच दलका तर्फबाट जारी गरिएको सामूहिक अपीलमा आपसी सहयोग गर्ने प्रण समेत गरिएको छ ।

स्थानीय स्तरमा देखिएका केही असहजतालाई सम्बोधन गर्दै लोकतन्त्र विरोधीहरु सलबलाईरहेको भन्दै प्रतिगामी शक्तिलाई परास्त गर्न झन एकतावद्ध हुनुको विकल्प नभएको अपिलमा उल्लेख गरिएको हो ।

 

‘पाँचदलको अपील ।

 

पाँच दलीय गठबन्धनको अपिल
अनेकों शहीदहरुको वलिदान र अनगिन्ती सपतहरुको त्याग, तपस्या समर्पण र नेपाली जनताको वर्षों देखिको अथक संघर्षले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्र परिवर्तन आएको छ । नयाँ संविधान जारी भएसँगै मुलुक नयाँ युगमा प्रवेश गरेको छ। समावेशिता, गणतन्त्र र स्थायित्वको दिशामा मुलुक अगाडि बढेको छ । तर पनि परिवर्तनलाई आत्मसात गर्न नसक्ने र नचाहने कतिपय शक्तिहरु यो परिवर्तनको विरुद्ध अझै पनि षडयन्त्र गरिरहेक छन् भन्ने कुराको उदाहरण देशको संविधानको उल्लंघन गर्दै संसद माथि निरन्तर प्रहार, अदालत उपर खेलवाड र संवैधानिक अंगहरुमा पैदा गराईएको बेथितिले स्पष्ट पारेको छ। यो भनेको अहिलेको लोकतान्त्रिक परिवर्तनलाई उल्टाउने दुस्प्रयास हो। यही परिवर्तन विरोधी र प्रतिगामी दुराशयबाट देश र लोकतन्त्रलाई जोगाउन पाँचदलिय गठबन्धन बनेको हो। पाँचदलको यो ऐक्यबद्धता नेपालमा लोकतन्त्र र लोकतन्त्रका मूल्यमा आधारित समाजवादको रक्षा गर्दै नेपाल राष्ट्रको स्वाधिनता, नेपाली जनताको स्वतन्त्रता र उन्नतिका लागि स्थानीय वासिन्दाहरुको कठिनाई हटाउदै तिनका आवश्यकता परिपूर्ति गर्न आगामी स्थानिय निर्वाचनमा पनि तालमेल गरेर अगाडि बढ़ने घोषणा गर्दछौं।
लोकतन्त्रको फराकिलो बाटोमा नेपाली जनतालाई स्वतन्त्रता पूर्वक अगाडि बढाउन र नेपाली समाजमा न्याय र समानता कायम गर्न प्रतिगमनलाई परास्त गर्दै नेपाल राष्ट्रको सर्वाङ्गीण र अग्रगामी बिकास र समृद्धि हासिल गर्न पाँचदल प्रतिबद्ध छन् र हिजोका सबै आपसी मतभेदलाई पर पन्छाउदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण गर्दछौं।
त्यसका लागि देशै भर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडी बढ्न पाँचदलका सम्पूर्ण साथीहरुलाई आहृवान गर्दछौं।
आदरणीय जनसमुदाय व्यापक सहभागिता सहित अगामी स्थानीय तहको निर्वाचन सफल पार्नका लागि पाँचदलीय गठबन्धनका उमेदवारहरुलाई अमूल्य मत दिई विजयी बनाउन हुन हार्दिक अनुरोध गर्दछौं।