रोशन दिप- प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि मंसीर ४ गते आइताबार बिहानदेखि मतदान हुँदैछ ।

निर्वाचन सफल गराउन आयोगबाट खटिएका कर्मचारी आवश्यक सबै सामग्री लिएर मतदान केन्द्रमा पुगिसकेका छन् ।

आइतबार विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुने छ ।

जनताको अधिकारलाई निर्वाचनले नै वैधता र सुनिश्चितता प्रदान गर्ने हुँदा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन सबै तयारी पूरा भएको आयोगले जनाएको छ ।

मतदान स्थलमा वा कतै बल प्रयोग गरी वा डर, त्रास देखाई मतदान गर्न लगाउने, केन्द्र कब्जा गर्न खोज्ने, मतपत्र, मतपेटिका वा मतदान सामग्री खोस्न, लुट्न, नष्ट गर्न वा कब्जामा लिन खोज्ने जो कोहीलाई तत्काल कारबाही गर्ने आयोगले चेतावनी दिएको छ ।

यसैविच मकवानपुरमा  ३ लाख ७ हजार ३३ जना मतदाता सहभागी हुने छन् । १६७ वटा निर्वाचन स्थल र ३६४ वटा मतदान केन्द्र रहेको छ ।

१ लाख ५३ हजार ५२८ पुरुष, १ लाख ४७ हजार २ सय महिला र अन्य ५ जना गरी तीन लाख ७३३ मतदाता सहभागी हुन लागेका हुन् । १ नम्बर क्षेत्रको १ क मा ७७ हजार ९८९ जना र ख मा ७२ हजार १६६ जना मतदाता रहेका छन् ।

२ को क मा ८३ हजार ०९९ जना र ख ६७ हजार ४७९ जना मतदाता रहेका छन् ।

निर्वाचनको लागि कर्मचारी, सुरक्षाकर्मी र स्वयंसेवकहरु मतदान केन्द्रमा पुगिसकेका छन् ।

निर्वाचन भयरहित बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र म्यादी प्रहरीसहित जिल्लामा ४५ सय सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए ।