राष्ट्रिय तेक्वान्दो सङ्घ, नेपालको आयोजनामा पाँचौँ राष्ट्रिय क्योरोगी रेफ्री सेमिनार तथा चौथो राष्ट्रिय क्योरोगी रेफ्री रिफ्रेसर कोर्स आज सम्पन्न भएको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस केन्द्रमा तीन दिनसम्म सञ्चालन भएको उक्त सेमिनार तथा कोर्समा सहभागी प्रशिक्षकलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले प्रमाणपत्र प्रदान गर्नुभयो । उक्त सेमिनारमा उपत्यका तथा विभिन्न जिल्लाका गरी करिब एक सय ३५ जनाको सहभागिता थियो ।

सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै राखेप सदस्य सचिव घिसिङले एकै प्रकृतिका खेल रहेर पनि विगतमा किन दुई सङ्घ हुनु परेको हो त्यसको जवाफ सङ्घमा रहेका नेतृत्वले दिनुपर्ने बताउनुभयो । उहाँले विभिन्न कारणले बनेका दुई सङ्घलाई एक हुन सुझाव दिँदै आफ्नो कार्यकालमा अनावश्यक सङ्घहरुको अस्तित्व नरहने बताउनुभयो ।

राष्ट्रिय तेक्वान्दो सङ्घका महासचिव राजकुमार कार्कीले विगतमा तेक्वान्दो खेलमा देखिएको विकृतिहरु यस पटकको नवौँ राष्ट्रिय खेलकुदका दौरान नहोस् भन्दै यस सेमिनार र कोर्सले त्यसलाई समाधान गर्ने विश्वास रहेको बताउनुभयो । लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको बाँकेमा उक्त कार्यक्रम यही भदौ १० देखि १२ गतेसम्म हुनेछ । त्यस्तै प्रदेश १ र मधेस प्रदेशमा उक्त कार्यक्रम भदौ १७ देखि १९ गतेसम्म हुनेछ ।
–––
रासस
फाइल तस्विर