हेटौंडा । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडा–१०,स्थित टिसीएन चौरमा जारी दोस्रो वृहत्, खेलकुद, कृषि तथा पर्यटन महोत्सवको मकवानपुर जिल्लास्तरीय भलिबल प्रतियोगिताको फाइनलमा थाहा नगरपालिका वडा नम्बर–२,स्थित मंगलेश्वर युवा क्लब र हेटौंडा–११,स्थित छहारी युवा सेवा समाज प्रवेश गरेको छ ।
मंगलबार भएको पहिलो सेमीफाइनल खेलमा मंगलेश्वर युवा क्लबले थाहा वडा नम्बर–६,स्थित नव प्रतिभा साँस्कृतिक युवा क्लबलाई २५–१९, २५–१८ र २५–१४ को सोझो सेटले पराजित गरेको छ भने मंगलबार भएकै दोस्रो सेमीफाइनल खेलमा हेटौंडाको छहारी युवा सेवा समाजले मनहरी गाउँपालिकालाई २८–२६,२५–२३ र २५–१६ को साझो सेटले पराजित गरेको छ । आजै मंगलबार २ बजे हुने फाइनल खेलमा छहारी र मंगलेश्वर युवा क्लबबीचको भेट पक्का भएको छ । दुबै टिम जीतको लक्ष्यसहित मैदानमा उत्रने छन् ।
प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमीफाइनलमा पराजित हुने दुई टिमले १५÷१५ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगितामा ७ वटा विधाका खेलाडीहरुलाई नगदसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ प्रदान गरिने छ भने अन्य उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट प्रशिक्षक र उद्यान खेलाडीलाई २÷२ हजार रुपैयाँको नगद पुरस्कार प्रदान गरिने छ । महोत्सव अन्तर्गतको भोलि बुधबारबाट राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु हुनेछ भने राष्ट्रिय तेक्वान्दो प्रतियोगिता पनि हुनेछ ।

















प्रतिक्रिया दिनुहोस्