बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तानले हेटौंडा ११ सिमलटारबाट घरदैलो अभियान सुरु गरेकी छिन् ।

आज बिहानबाट उनले घरदैलो अभियान सुरु गर्दै सिमलटारबासीको समस्या, गुनासो र अपेक्षाहरु सुनेका थिए ।

आफ्नो टोलमा मत माग्दै आइपुगेका मोक्तानसँग स्थानीयहरुले बसोबास गर्दै आएको जमिनको लालपूर्जा छिट्टै उपलब्ध गराउन पहल गरिदन आग्रह गरेका छन् । मोक्तानसँगको भेटमा एकसय छ वर्षीय धनमाया पाख्रिनले भनिन्, ‘यो बस्तीमा बाटो, बिजुली ल्याइदिनुभयो ।

अब एउटा पूर्जा दिनुहोला जमिनको । हाम्रो भोट खेर जाँदैन ।’ अघिल्लो पटक पनि मोक्तनलाई आफुहरुले जिताएर पठाएको बताउँदै उनले फेरि मत दिन पाउने भएपछि खुशी लागेको बताइन् । अर्का स्थानीय ८० वर्षीय मनबहादुर तामाङले मकवानपुरको भविष्य बोकेको नेता भन्दै मोक्तानलाई जितको शुभकामना दिए । घरदैलोको क्रममा स्थानीयहरुले खादा र मालाले मोक्तानलाई स्वागत गरेका थिए ।

सिमलटारको बुद्ध चोकबाट सुरु भएको घरदैलो बिभिन्न टोलमा पुगेर बुद्ध चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै मोक्तानले यस क्षेत्रको समस्याबारे आफु परिचित रहेको र लालपूर्जा उपलब्ध गराउन आफुले सकेको पहल गर्ने बताईन् ।

‘तपाईहरुले तटबन्धन र सडक स्ल्याप माग्नुभयो, त्यो पुरा भएको छ, अब जग्गधनी लालपूर्जाको लागि पनि म तपाईहरुसँगै रहेर पहल गर्नेछु’, मोक्तानले भनिन्, ‘गठबन्धनलाई विजयी गराइदिनुहोला । हाम्रो सरकार बनेपछि तपाईहरुका धेरै अपेक्षा हामी पुरा गर्नेछौं ।’ सिमलटारमा मकवानपुरको बिभिन्न क्षेत्रबाट आएर बसोबास गरेका करिब दुई हजार परिवार रहेको छ । नेकपा माओवादी केन्द्रको पहलमा यस क्षेत्रमा भूमिहिनहरुको बस्ती बसालिएको थियो ।