घरेलु उत्पादन भनेपछि ग्राहकले खोजीखोजी सामग्री खरिद गर्छन्। ग्राहकको आकर्षण बढाउन हातले अनेकौं स्वरुप र बुट्टा भरेर तयार पारिएका सामग्रीमै धेरै आकर्षित हुन्छन्। नयाँ स्वरुप दिएर तयार पारिएका सामग्री देखेपछि आकर्षक मान्दै ग्राहकले खरिद गर्दछन्।

ग्राहकको मनै लोभ्याउने बुट्टा भरेर बनाइएका सामग्री आवश्यकता परिपूर्तिका लागि मात्र नभई घर तथा कोठा सजावट गर्न घरेलु सामग्रीमै ग्राहक लोभिन्छन्। पाल्पाको रामपुरमा हाल सञ्चालित व्यापार मेलामा हस्तकलाका सामग्रीप्रति ग्राहकको आकर्षण बढेको छ। तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलामा दैनिक हस्तकलाका सामग्री खरिद गर्ने तथा अवलोकन गर्नेको भीड देखिन्छ।

बजारमा झट्ट उपलब्ध नहुने भएकाले ग्राहकले मेलामा आफूले खोजेको सामग्री पाइएपछि उत्साहित हुँदै खरिद गर्ने गरेको रामपुरका स्थानीय व्यापारी मणि भट्टराईले बताए।

‘घरेलु उत्पादन भनेपछि ग्राहकले हेर्ने नजर बेग्लै छ, हिजोआज घरेलु उत्पादन कम हुँदै गएको छ, यहाँ रोजीरोजी सामग्री लिन पाइएको छ, यसमै ग्राहकलाई सन्तुष्टि मिलेको छ’, उनले भने।

कलात्मक स्वरुप दिएर घरेलु सामग्रीबाट उत्पादन भएका सामग्री ग्राहकको रोजाइमा परेका छन्। पाल्पा कारागारमा रहेका कैदीबन्दीले उत्पादन गरेका हस्तकलाका सामग्री मेला अवलोकन गर्न पुगेका दर्शकले आकर्षक मान्दै सामग्री खरिद गर्ने गरेका छन्। घरेलु उत्पादन, कारागारका कैदीबन्दीको मेहनत र परिश्रमलाई प्रोत्साहन गर्दै मेलामा पुगेका व्यक्तिले सामग्री किनमेल गरेर फर्कने गरेका छन्।

यहाँ मुढा, ढँकिया, नाम्लो, नाङ्लो, ठेकी लगायत सामग्री बिक्रीका लागि राखिएका छन्। कारागारका कैदीबन्दीले उत्पादन गरेको सामग्री घरेलु तथा साना उद्योग कार्यालय मार्फत प्रोत्साहन गर्दै व्यवसायी बालकृष्ण अर्यालले सामग्री खरिद गरी मेलामा बिक्री गरेका छन्। कार्यालयले कक्षको व्यवस्था गरेपछि धेरै सजिलो भएको व्यवसायी अर्याल बताउँछन्।

पाल्पाको तानसेनस्थित सुजन जनरल स्टोर्सका सञ्चालकसमेत रहेका अर्यालले कारागारमा कैदी बन्दीले उत्पादन गरेका हस्तकलाका सामग्री मेला महोत्सव तथा पसलबाटै बिक्री गर्दै आएका छन्। यहाँको मेलामा घरेलु उत्पादनका सामग्री भएकाले टिकाउ र गुणस्तरीय, हेर्दै आकर्षक रहेको हुँदा राम्रै व्यापार भइरहेको अर्याल बताउँछन्।

‘घरेलु सामग्रीको महत्व बुझ्नेले खोजीखोजी किनेर लैजाने गर्नुहुन्छ’, उनले भने, ‘मेलामा दैनिकजसो व्यापार बढ्दै गएको छ, बजारमा पछिल्लो समय घरेलु उत्पादन कम पाइने भएकाले पनि मेलामा आउने व्यक्तिले घर सजावट तथा दैनिक प्रयोगका लागि सामग्री खरिद गरिरहेका छन्।’

मेलामा प्रति मुढा न्यूनतम तीन सय ५० देखि सात सय रुपैयाँसम्म, नाङ्लो दुई सय ५० देखि तीन सय रुपैयाँसम्म, जुटको नाम्लो एक सय रुपैयाँ, ठेकी आठ सय रुपैयाँ, मादल  दुई हजार पाँच सय रुपैयाँ र बेतको ढँकिया एक सय रुपैयाँ मूल्य कायम गरिएको छ। मेला सुरु अवधिदेखि नै हस्तकलाका सामग्रीमा ग्राहकको आकर्षण बढिरहेको छ। हस्तकलाका सामग्री गुरुङ, मगर, राई, लिम्बू समुदायको बसोबास भएका क्षेत्रमा धेरै खपत हुने गरेको व्यवसायी अर्यालको अनुभव छ।

कोभिड-१९ भन्दा अघि पाल्पामा उत्पादन भएको हस्कलाका सामग्री चीनमा समेत निर्यात गरिंदै आएकामा कोरोना महामारीमा सामग्री खपत हुन छाडेको उनले बताए। एक वर्षमा कारागारमा रहेका कैदीबन्दीबाट तयार भएका विभिन्न सामग्री गरी २० लाख रुपैयाँ बराबरको सामग्री खरिद गरी अन्यत्र बिक्री वितरण भइरहेको अर्यालले बताए।

उनको तानसेनस्थित पसलमा हस्तकलाका सबैजसो सामग्री, सिलौटो, खैजडी, गिटार, मादल लगायत वाद्यवादनका सामग्री उपलब्ध छन्।

करिब तीन दशकदेखि तानसेनमा हस्तकलाका सामग्रीको व्यापार गर्दै आएका अर्यालले गाउँघरमा पाइने विभिन्न सामग्री प्रयोग गरी हातले तयार पारेका सामग्री खोज्ने ग्राहक पछिल्लो समय बढ्दै गएको बताउँछन्। कारागारमा रहेका करिब तीन सय ५० कैदी बन्दीले ती सामग्री उत्पादन गरेका हुन्। लुम्बिनी प्रदेशका सबै जिल्लासहित अन्य जिल्लामा पनि सामग्री खपत भइरहेको छ। हाल यहाँको मेलामा नाम्लो ग्राहकको माग अनुसार पु¥याउन सकिएको छैन।

स्थानीय सामग्रीबाट उत्पादन भएका सामग्रीलाई प्रवद्र्धन गर्दै उत्पादन बढाएर आयस्रोत वृद्धि गर्ने गरी कार्यालयले मेलामा कक्षका लागि व्यवसायीलाई प्रोत्साहनस्वरुप सहयोग गरेको घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत देवीराम भण्डारी बताउँछन्। स्थानीय उत्पादनमा कार्यालयले जोड दिंदै खरिद बिक्रीमा व्यवसायीलाई प्रोत्साहन दिंदै आएको उनको भनाइ छ।

नागरिक न्युजबाट साभार छ ।