चार दिने भारत भ्रमणमा रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल अहिले मध्यप्रदेशको इन्दोरमा पुगेका छन्। धार्मिक यात्रा र अन्य भेटघाटका लागि उनी मध्यप्रदेश पुगेका हुन्।

इन्दोरमा पुगेका प्रधानमनत्री दाहाललाई विभिन्न नाँचगान र झाँकीसहित स्वागत गरिएको छ। इन्दोरस्थित देवी अहिल्याबाई होल्कर विमानस्थलमा उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानललगायत सरकारी अधिकारीले स्वागत गरे। त्यसपछि कलाकारहरूले नृत्य प्रदर्शन गरेका थिए।

विमानस्थलबाट उनी उज्जैनमा रहेको श्री महाकालेश्वर मन्दिर पुग्ने र मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्नेछन्। मन्दिर परिसरको अवलोकनपछि प्रधानमन्त्री दाहाल होटल इन्दोर मेरियटमा रहनेछन्।

प्रधानमन्त्री दाहाललाइ बुधबार पनि नयाँ दिल्ली एयरपोर्टबाट बाहिरिँदा नाचगानसहित स्वागत गरिएको थियो।

भ्रमणका क्रममा उनले आजै मध्यप्रदेशका गभर्नर श्री मङ्गुभाइ पटेलसँग भेटवार्ता गर्ने कार्यक्रम छ। त्यहाँ रहँदा उनले स्वच्छ भारत अभियानअन्तर्गत इन्दोर म्युनिसिपल कर्पोरेशनले गरेको फोहर व्यवस्थापनसम्बन्धी सफल अभ्यासबारे जानकारी लिनेछन्। आजै प्रधानमन्त्री दाहालकोे सम्मानमा मध्यप्रदेशका मुख्यमन्त्री चौहानले रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ ।

शनिबार प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलले टिसिएस इन्फोसिस विशेष आर्थिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ।

बिहीबार प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ताका अलावा दुई देशबीच महत्वपूर्ण विषयमा सहमति तथा समझदारीसमेत भएको थियो। प्रधानमन्त्री दाहाल शनिबार स्वदेश फर्कने कार्यक्रम छ।

नागरिक न्युजबाट साभार गरिएको हो ।