हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको नगर बाल सञ्जाल पूनःगठन भएको छ । शनिबार एक समारोहकाबीच जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा नगर बाल सञ्जाल पूनःगठन भएको हो । बाल सञ्जालको नयाँ गठन प्रक्रिया कार्यक्रममा पूरानो समितिले बालबालिकाको गुनासो नबुझेको आरोप लगाउँदै विवाद उत्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिका महिला तथा बालबालिका महाशाखा प्रमुख विष्णु कुमारी लामिछानेको नेतृत्वमा भएको समिति पूनःगठन प्रति नगर बाल संजालकी निवर्तमान अध्यक्ष स्मृति अधिकारीले गम्भीर असन्तुष्टि प्रकट गरेकी छन् ।
उनका अनुसार“पुरानो समितिमा जिम्मेवारीपूर्वक काम गरेका बालबालिकासँग कुनै छलफल नगरिकन, उनीहरूको अनुभव र सुझावलाई बेवास्ता गरिएको छ । एकपक्षीय रुपमा नयाँ समिति गठन गरिएको छ,“ भन्ने कुराको आरोप लगाउँदैउनले भनिन्, “यो प्रक्रिया न्यायपूर्ण छैन । बालबालिकाको सशक्तिकरणको नाममा स्वयं बालबालिकाको मत नसुनिनु आफैंमा विडम्बनापूर्ण छ ।”
घटनाले हेटौंडा उपमहानगरमा बाल अधिकार र सहभागिताको सवालमा नयाँ बहसको सिर्जना गरेको बताइएको छ । बाल सञ्जाल गठनको मूल उद्देश्य नै बालबालिकाको नेतृत्व विकास र सहभागिता सुनिश्चित गर्नु हो भन्ने सन्देश दिंदै, यस प्रकारको कार्यशैलीप्रति स्थानीय स्तरमा चासो र प्रश्नहरू उठ्न थालेका छन् । यसबारे महिला तथा बालबालिका महाशाखाको तर्फबाट औपचारिक प्रतिक्रिया भने प्राप्त हुन बाँकी रहेको छ ।























प्रतिक्रिया दिनुहोस्