हेटौंडा । हेटौंडा–९,स्थित सिआन पुर्नस्थापना केन्द्रको आयोजनामा भएको १५ दिने कफी बनाउने (बारिस्ता)तालिम सम्पन्न भएको छ । सिआन केन्द्रमा उपचाररत व्यक्तिहरूलाई सीप विकासमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरेको तालिममा सरोज बर्तौला प्रशिक्षण गरेका थिए । तालिममा ५० जना प्रशिक्षर्थीहरु सहभागी भएका थिए । समापन कार्यक्रम कृषि तथा पशुपन्छी विकास मन्त्रालय मन्त्री मधुसुदन पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । उपचारसँगै सीप विकास जोडिनु नै दिगो पुनःस्थापनाको आधार भएको मन्त्री पौडेलले बताए । उनले सीपयुक्त जनशक्ति विकासमार्फत रोजगारी र आत्मनिर्भरता सम्भव हुने बताउँदै, सिआनले अघि सारेको यो मोडेल प्रदेश र देशकै लागि अनुकरणीय रहेको धारणा व्यक्त गरे ।
प्रदेश सभा सदस्य एका लाल श्रेष्ठले सीपयुक्त जनशक्ति विकास नै समाजलाई दीर्घकालीन रूपमा सुरक्षित र समुन्नत बनाउने आधार भएको उल्लेख गरे । पूर्व डीआईजी तथा हुलास स्टिल इन्डस्टृजका प्रमुख रवीन्द्र पण्डितले निजी क्षेत्र सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमसँग जोडिनुपर्ने आवश्यकता औंल्याए । सीपयुक्त व्यक्तिहरूलाई अवसर दिन उद्योग क्षेत्र तयार रहेको स्पष्ट पारे । उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरका प्रमुख रामप्रसाद भुसालले सरकारी निकायहरू सीप विकासमार्फत रोजगारी सिर्जनाका कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताए । तालिममार्फत सहभागीहरूले कफी बनाउने व्यावहारिक सीप, बारिस्ता आचारसंहिता तथा ग्राहक सेवासम्बन्धी ज्ञान हासिल गर्दै आत्मविश्वास र भविष्यप्रतिको आशा विकास गरेको सिआनले जनाएको छ ।
समापन कार्यक्रमकै अवसरमा सिआन पुनर्स्थापना केन्द्रले आफ्नो सचेतनामूलक डकुमेन्ट्री पनि सार्वजनिक गरेको छ । डकुमेन्ट्रीमा लागुऔषध दुर्व्यसन, मानसिक स्वास्थ्य समस्या, उपचार प्रक्रिया, पुनःस्थापना, सामाजिक पुनःएकीकरण र परिवारको भूमिकालाई यथार्थपरक ढंगले प्रस्तुत गरिएको छ । यस डकुमेन्ट्रीले समाजमा रहेका गलत धारणा तोड्दै पुनःस्थापनाप्रति सकारात्मक सोच विकास गर्ने अपेक्षा गरिएको छ । समापन कार्यक्रमका अवसरमा श्री दिवाकर गोल्छा प्रतिष्ठान तथा हुलास स्टिल इन्डस्ट्रिज ले सिआन पुनर्स्थापना केन्द्रलाई पुर्याउँदै आएको सहयोगको कदरस्वरूप सम्मान कार्यक्रम पनि आयोजना गरिएको थियो ।
कार्यक्रममा पूर्व डीआईजी तथा हुलास स्टिल इन्डस्ट्रिजका प्रशासन प्रमुख रवीन्द्र पण्डित उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरका प्रमुख रामप्रसाद भुसाल, गैसस मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशका प्रतिनिधि राज नारायण सर, उद्योग तथा वाणिज्य कार्यालय शाखा प्रमुख लेखमान राउत, सिआनका पूर्व अध्यक्ष बिजेन्द्र अग्रवाल, सल्लाहकार सानु लामा, कानुनी सल्लाहकार सन्तोष पौडेल, अभिभावक तथा सल्लाहकार महेश्वोर मान श्रेष्ठ, प्रशिक्षक सरोज बर्तौला तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।















प्रतिक्रिया दिनुहोस्