जुम्लाको सिँजा गाउँपालिका भित्रका विद्यालयमा खसभाषाको पढाइ सुरु हुने भएको छ। गाउँपालिकाको नवौँ गाउँसभाले सिँजाका २२ विद्यालयमा कक्ष १ देखि ३ सम्म खसभाषाको पढाइ प्रारम्भ गर्ने निर्णय गरेको हो।

खसभाषा यहाँको पहिचान हो। खसहरूले देखाएको विरताको चिनारी हो। गाउँपालिका अध्यक्ष देवलसिंह रावलले भने,‘नेपाली भाषाको केन्द्रविन्दु मानिएको सिँजामा खसभाषाको पाठ्यक्रम बनाएर पढाइ प्रारम्भ हुनु सुखद पक्ष हो। अब यहाँको इतिहास बालबालिकाले खसभाषामै पढ्न पाउनेछन। यहाँको आर्थिक,सामाजिक,साँस्कृतिक र पर्यटन क्षेत्रको वयान पनि खसभाषामै गर्नेछन।’

खसभाषाको पाठ्यक्रम विमोचन गरेर गाउँसभाको प्रारम्भ गरिएको थियो। गाउँपालिका प्रवक्ता नविन शर्माले खसभाषाको पाठ्यक्रम निर्माणले सिँजा क्षेत्रमा उत्साह पैदा भएको जनाए। उनले भने,‘खस साम्राज्यको इतिहास सामान्य छैन। यो इतिहास विरता र उपलब्धिपुर्ण इतिहास हो। अब खसभाषाको पाठ्यक्रम निर्माणले खसभाषाको प्रवद्र्धन गर्ने विश्वास लिइएको छ।’

खसभाषा जोगाउनको लागि कुनै क्रियाकलाप नहुँदा लोप हुने अवस्थामा थियो। गाउँसहरमा आधुनिक भाषाको वर्चश्व थियो। प्रवक्ता शर्माका अनुसार नवौँ गाउँसभाले १५ शैय्या अस्पताल निर्माणको लागि केन्द्र सरकारलाई आग्रह गर्ने,सिँजा गाउँपालिकामा कार्यरत बालविकास केन्द्रका सहजकर्ताहरुको रोकिएको तलब निकासा गर्ने र तलब वृद्धि गर्ने निर्णय समेत गरेको हो। गाउँसभामा पहिलो कार्यकाल भित्र भएका उपलब्धि र सीमा समस्याका बिषयमा समेत चर्चा गरिएको थियो।

यो गाउँपालिकाले स्थानीयतहको निर्वाचन भएको पहिलो बर्षदेखि शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन पुर्वाधारका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको थियो। गाउँपालिका अध्यक्ष देवलसिंह रावलले  जनआकांक्षा र निर्वाचित जनप्रतिनिधिहरुको विकास प्रतिको तिव्र अपेक्षाको सम्वोधन भएको बताए।

स्थानीय तहमा रहेको श्रोत र साधनको अधिनमा रहि कार्यान्वयन गर्ने गरि नीति तथा कार्यक्रम तयार गरिएको थियो।  उनले भने,‘एक गाउँपालिकाले पाँच बर्षभित्र गर्नु पर्ने सबै काम सकाएको छ। जनताको माग भन्दा पनि आवश्यकताका योजना बनाइएको छ। जनताको समस्या संवोधनका लागि कुनै कसुर बाँकी राखिएको छैन। यो भन्दा ठुलो उपलब्धि के हुन सक्छ?’

नवौँ गाउँसभाको नारा सिंजाको समृद्धिको आधार, शिक्षा, कृषि, पर्यटन र पुर्वाधार भन्ने तय गरिएको थियो। अध्यक्ष रावलले गरिबीको अन्त्य गर्न कृषि उत्पादनको क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर युवावर्गलाई कृषिमा आकर्षित गर्न र  कृषिलाई आधुनिकीरकण गर्दै सहुलियत ऋणको व्यवस्था गर्ने नीति लिएर कार्यन्वयन भइसकेको बताए।

युवालाई गाउँमै रोजगारी उपलब्ध गराउने अभ्यास प्रारम्भ भइसकेको छ। कृषिमा परिवर्तन ल्याउन प्रत्येक वडामा कृषि प्राविधिक परिचालन गरिएको छ। स्याउ र ओखर व्यवस्थापन बारेमा सचेतीकरण गरिएको छ। अध्यक्ष रावलले थपे,‘जनप्रतिनिधि आइसकेपछि १ देखि ६ वडा सम्म ग्रामीण बाटो पुगिसकेको छ। यहाँ उत्पादित कृषिजन्य वस्तुको उत्पादन तथा बजारीकरणको लागि समस्या छैन। ’

हरेक गाउँमा एकघर एक धारा, घरघरमा स्याउ बगैचा, स्वास्थ्य,शिक्षा र बिजुली पुगेको छ । पहिलो पटक संघीयताको अभ्यास भएकोले सबै सिक्ने र सिकाउने प्रक्रियामै रह्यौँ। उनले भने,‘तर गाउँपालिका भित्र गर्नु पर्ने विकास भइसकेको छ। जनताको आधारभुत आवश्यकता पुर्ति गर्न अधिकतम प्रयास भएको छ। यो सुखद सन्देश नै हो।’

गुणस्तरीय शिक्षा प्रदान गर्न  सबै विद्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गरिएको छ।  स्थानीय सरकारको निर्णय प्रक्रियामा महिला, बालबालिका, अपांङग, दलित र जेष्ठ नागरिकको सम्मानजनक सहभागिता बढाइएको छ।

सुचना प्रविधिको अधिकतम प्रयोग गरेर महामारीका समयष्मा अनलाइन मार्फत शिक्षण गर्ने प्रक्रियाको थालनी भएको छ। प्रवक्ता शर्माले भने,‘पहिलो कार्यकाल निकै चुनौतिपुर्ण भएपनि चुनौतिकाबीच पनि राम्रो काम भएका छन्। अब यी कार्यलाई संस्थागत गर्दै लैजानु पर्ने बेला भएको छ।’

उपाध्यक्ष जन्मकन्य खत्री पाँच बर्षे कार्यकाल निकै सफल भएको अनुभति भइरहेको बताइन। उनले न्यायिक समितिको माध्यमबाट गाउँमा हुने स साना विवाद समाधान गर्न सफल भएको बताइन। पहिले सामान्य झगडा हुँदा जिल्ला पुग्नु पर्ने अवस्था थियो। तर अहिले दैलोमै यो सेवा पाउँछन्। उनले भनिन्,‘विकास योजनाको अनुगमन देखि न्याय निरुपणका क्षेत्रमा राम्रो अभ्यास भएका छन्। म आफुले गरेको कार्यप्रति सन्तोष नै छु।’

सिँजा गाउँपालिका ६ का वडाध्यक्ष रणबहादुर रोकायाले सिंहदरवारको अधिकार गाउँ सम्म पुगेपछि कार्यन्वयन गर्ने प्रक्रियामा निकै बाधा व्यवधान कायमै रहेको बताए। मेरो वडाका हरेक बस्तीमा सडक,खानेपानी,स्वास्थ्य,शिक्षा र बिजुली पुगिसकेको छ। विकासका पुर्वाधारहरु सफल गर्न जनताको भरपुर सहयोग पाइराखेको छु,उनले भने,‘ जनप्रतिनिधिको न्यायाधीश स्वंयम जनता भएकोले हरेक काममा निगरानी हुन्छ । जसले सुशासन र पारदर्शीताका बिषयमा जिम्मेवार बनाउदो रहेछ।’

सिँजा २ का अध्यक्ष नवीन शर्माले जनप्रतिनिधिले गर्ने काममा कुनै पनि शंक र उपशंका नरहेको दाबी गरे। अहिले जनताको कार्यशैली आनीबानीमा ठुलो परिवर्तन आएको छ। हरेक क्षेत्रमा परिवर्तन देखिन्छ। सरकारले उपलब्ध गराउदै आएको सेवा सुविधा देखि अन्य सेवा जनताको घरमै पुगेर प्रदान भइराखेका छन। उनले भने,‘जनप्रतिनिधिबाट स्वच्छ मनले सेवा भइरहेको छ। तर  गाउँपालिकाबाट वितरण गरिएका विकासे योजनामा जनता बाट भ्रष्टाचार हुने गरेको छ। उपभोक्ता सबै उनिहरु बस्ने भएकोले जनप्रतिनिधिको कुनै हात हुदैन। अब सुशासनको पाठ जनस्तरमा सिकाउनु पर्ने बेला आइपुगेको अनुभुति भइराखेको छ।’

प्रत्येक गाउँ बस्तीमा सडक,खानेपानी,स्वास्थ्य,शिक्षा र बत्ती पुगेको सवै वडाध्यक्षहरुले दाबी गरेका छन्। काम गर्दा जनताको इच्छा आकांक्षा बुझेर मात्र काम अघि बढाउने गरेको उनीहरू बताउँछन्।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो