जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत रसुवा–नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ बी जलविद्युत् आयोजनाको निर्माण तीव्र गतिमा भइरहेको छ ।यो आयोजनाको प्रवद्र्धक कम्पनी त्रिशूली जलविद्युत् कम्पनीका अनुसार यो आयोजनाको अहिलेसम्मको समग्र भौतिक प्रगति ५८ प्रतिशत पुगेको छ । अबको डेढ वर्षभित्र सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिइएको कम्पनीका प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमले जानकारी दिनुभयो ।

नयाँ वर्ष मनाउन माघ २०७६ को दोस्रो साता घर गएका चिनियाँ कामदार कोभिड–१९ का कारण फर्कन नपाएको र चीनबाट उपकरण तथा सामग्री ल्याउन नसक्दा आयोजनाको निर्माणले करिब १५ महिना गति लिएन । २०७७ चैतदेखि निर्माण कार्यले पुनः गति लिएकोमा कोभिड–१९ को दोस्रो र तेस्रो लहरका कारणले पुनः तीन हप्ता काम प्रभावित भएको थियो ।

गौतमका अनुसार मुख्य सुरुङमा पूर्वानुमानभन्दा ज्यादै कमजोर चट्टान फेला परेका कारण निर्माण प्रभावित भएको थियो । ठेकेदार चिनियाँ कम्पनी सुइफा एएनएचई ग्रुप कम्पनी लिमिटेडले अहिले इन्टेक, मुख्य सुरुङ, विद्युत् गृहलगायतका मुख्य संरचना निर्माण गरिरहेको छ ।

अहिले तीन हजार ८०५ मिटर लामो मुख्य सुरुङमध्ये दुई हजार ८६५ मिटर खनिसकिएको छ । “सतही विद्युत् गृह खन्ने कार्य सम्पन्न भई संरचनाको कङ्क्रिटिङ सुरु भएको छ, इलेक्ट्रोमेकानिकल उपकरण जडान गर्दै पहिलो चरणको कङ्क्रिटिङ आउँदो जेठसम्म सक्ने गरी काम तीव्र पारेका छौँ,” उहाँले भन्नुभयो ।

चीनसँगका भन्सार नाका अझै पूर्ण रूपमा नखुल्दा ठेकेदार कम्पनीले चीनमा खरिद गरिसकेका तथा खरिद आदेश दिई उत्पादन र प्याकेजिङको चरणमा रहेका निर्माण उपकरण तथा सामग्री ढुवानी गरी निर्माणस्थलसम्म ल्याउन पनि समस्या भोग्दै आएको छ । केरुङ नाकामा लामो समयदेखि छुटाउन नसकिएका इलेक्ट्रोमेकानिकल उपकरण ऊर्जा र परराष्ट्र मन्त्रालयको पहलपछि ल्हासास्थित महावाणिज्य दूतावासबाट सामान छिट्टै भित्रिने जानकारी पाएको गौतमले जानकारी दिनुभयो ।

इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी) मोडेलमा आयोजना निर्माणका सुइफा एएनएचई ग्रुप कम्पनीसँग २०७४ माघ २९ गते ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल तर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण, जडान तथा सञ्चालन गर्नेछ ।

नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनाको क्यास्केड आयोजना भएकाले माथिल्लो त्रिशूली–३ बीले बाँध, बालुवा थिग्र्याउने पोखरी (डिसेन्डर)लगायतका संरचना बनाउनु पर्दैन । माथिल्लो त्रिशूली–३ एको विद्युत् गृहबाट विद्युत् उत्पादनपश्चात् निस्किएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान पनि भइसकेको गौतमले बताउनुभयो । उत्पादित विद्युत् हाल सञ्चालनमा रहेको समुद्रटार–त्रिशूली–३ बी हब प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह हुनेछ ।

सेयरबापतको बाँकी रकम उठाइने
आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले जनताको जलविद्युत् काार्यक्रमअन्तर्गत निष्कासन गरेको सेयरबापतको बाँकी रकम छिट्टै सङ्कलन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ३७ लाख पाँच हजार कित्ता सेयर निष्कासन गरी प्रतिसेयर एक सय रुपियाँ अङ्कित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपियाँ मात्र सङ्कलन गरेको थियो ।

जनताको जलविद्युत् कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ सेयरबापत चुक्ता गर्न बाँकी रकम आयोजनाको ५० प्रतिशत भौतिक प्रगति र कम्पनीका संस्थापक समूहका सेयरधनीले लिन कबुल गरेको सेयरबापतको रकम सबै चुक्ता गरेपछि मात्र भुक्तानी माग गर्नुपर्ने व्यवस्था छ । कार्यविधिमा भएको सर्त पूरा भइसकेकाले सेयरधनीले चुक्ता गर्न बाँकी ९० रुपियाँ सङ्कलनका लागि छिट्टै आह्वान गरिनेछ साथै सर्वसाधारण समूहमा रहेका अन्य सेयर पनि निष्कासन प्रक्रिया अगाडि बढाइनेछ, प्रबन्ध–सञ्चालक गौतमले भन्नुभयो ।

कम्पनीमा प्राधिकरण र नेपाल टेलिकमको ३०–३० प्रतिशत संस्थापक सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको पाँच प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको पाँच प्रतिशत, रसुवा तथा नुवाकोटवासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको पाँच प्रतिशत सेयर रहनेछ ।

अनुमानित निर्माण लागत सात अर्ब ४४ करोड रुपियाँ रहेको आयोजनाको निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोड रुपियाँ रहेको छ । आयोजनामा ३० प्रतिशत इक्विटी (दुई अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (पाँच अर्ब ७६ करोड)बाट लगानी जुटाइएको छ ।
आयोजनाबाट सुक्खायाममा (मङ्सिर १६ देखि जेठ १५ सम्म) १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा (जेठ १६ देखि मङ्सिर १५ सम्म) १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुनेछ ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो