काभ्रेको भुम्लु गाउँपालिका–२ सिम्थलीमा रहेको अरुणोदय माध्यमिक विद्यालयमा गणित शिक्षक खाली रहेको एक वर्ष भइसकेको छ । पटक–पटक विद्यालयले शिक्षक आवश्यकताको सूचना प्रकाशन गरे पनि उक्त विद्यालयले गणित शिक्षक नियुक्त गर्न सकेको छैन ।

भुम्लु गाउँपालिका वडा नं. ६ कोलातीमा रहेको जनता माध्यमिक विद्यालयको हालत पनि उस्तै छ । उक्त विद्यालयमा अङ्ग्रेजी शिक्षक खाली रहेको चार महिना पुगिसकेको छ । विद्यालयमा फागुन पहिलो साता शिक्षक नियुक्त गरिएको भए पनि बस्ने ठाउँ राम्रो नरहेको बताउँदै एकै दिनमा शिक्षक फर्किएका थिए ।

दुर्गम भेगमा अहिले पनि गणित, अङ्ग्रेजी र विज्ञानका शिक्षक जान मान्दैनन् । गए पनि केही महिना बसेर फर्कने गरेका छन् । अरुणोदय माध्यमिक विद्यालयकी प्रधानाध्यापक निर्मलाकुमारी खड्काले ग्रामीण भेगमा अङ्ग्रेजी, गणित र विज्ञान शिक्षक आउनै नमान्ने गरेको बताउनुहुन्छ । गणित शिक्षक खाली भएको एक वर्ष भइसकेको छ तर विज्ञापन गरेर आह्वान गर्दा पनि शिक्षक आउनुहुन्न । निम्नमाध्यमिक तहको शिक्षकले माध्यमिक तहका विद्यार्थीलाई पढाउँदै आउनुभएको छ । विद्यालयमा २४९ जना विद्यार्थी अध्ययनरत छन् । पर्याप्त शिक्षक नरहेको उक्त विद्यालयमा एक संस्थाले माविमा दुई जना शिक्षक राख्न सहयोग गर्दै आएको छ ।

जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद गुरागाईंले पर्याप्त दरबन्दी नभएका कारण योग्यता पुगेका प्राथमिक तहका शिक्षकलाई माध्यमिक तहसम्म पढाउन लगाउने गरेको बताउनुहुन्छ । “अन्य विषय त प्राथमिक तहका शिक्षकले पढाउनुहुन्छ तर गणित, विज्ञान र अङ्ग्रेजी शिक्षक नहुँदा निकै समस्यामा परेका छौँ । एसईईको तयारीमा रहेका माध्यमिक तहका विद्यार्थीले चार महिनादेखि अङ्ग्रेजी विषय पढ्न पाएका छैनन् । ” उहाँले गुनासो गर्दै भन्नुभयो, “बल्लबल्ल ल्याएको शिक्षक पनि एक दिन पनि राम्रोसँग नबसी फर्कनुभयो । ”

गणित, विज्ञान र अङ्ग्रेजी विषय अध्यापन गर्न भनेका बेला योग्यता पुगेका शिक्षक गाउँमा पाइँदैनन् । गाउँमा त्यस्ता जनशक्ति छैनन् । शिक्षक हुन शैक्षिक योग्यताका अतिरिक्त शिक्षण अनुमति प्रमाणपत्रलाई अनिवार्य गरिएको छ । प्रमाणपत्रका लागि शिक्षक सेवा आयोगले दुई वर्षदेखि परीक्षा लिएको छैन । यसले पनि शिक्षक नपाइएको विद्यालयको गुनासो छ ।भुम्लु गाउँपालिकामा माध्यमिक र निम्नमाध्यमिक तहमा ३१ शिक्षक दरबन्दी खाली रहेको गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले जानकारी दिनुभयो ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो