रोशन दिप – हेटौडा – ४ नारायणी मलमा रहेको एनएस सिने हलले जनप्रतिनिधिहरुलाई चलचित्र ‘नांगो गाउँ’ निशुल्क रुपमा देखाइ रहेको छ ।

हल संचालक नवराज आचार्यका अनुसार हालको समयमा चलिरहेको शिक्षक आन्दोलन जस्तै हुबहु प्रसङ्ग चलचित्रले समेटेको छ ।

उनी भन्छन् हाम्रो चुनावमा गलत मतदानको परिणामले कस्तो खाल्को खराब असर पर्न सक्छ भन्ने विषयमा गहिरीएर सोच्न बाध्य बनाउने तथा सचेत गराउने खालको कथावस्तु समेटेको कारण एनएस सिनेमा हलले जनप्रतिनिधिलाई निशुल्क चलचित्र देखाएको हो ।

दीपेन्द्र लामाद्वारा निर्देशित यो चलचित्र दयाहाङ राई, शिशिर वाङ्देल, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्मा, कमलमणी नेपाल, रविन्द्र झा, बुद्धि तामाङ, विशाल पहारी, राज थापा, अंकित खड्का, निमा पाण्डे, ज्ञानुभाई जोशी, पुष्कर गुरुङ, श्रद्धा गिरी, शिशिर तामाङ, केशव राई, सविन बास्तोला, रामकाजी घिमिरे, गणेश प्रसाद पौडेल, शंकर आचार्य, इस्तु कार्की, टिका निरौला, बद्री पुडासैनी, नमस्ते दिवाकर लगायतका कलाकारको अभिनय छ ।

जय श्रेष्ठको लगानीमा तयार भएको फिल्मको प्रस्तुतकर्ता हिमाल शर्मा हुन् । रामहरि श्रेष्ठ कार्यकारी निर्माता रहेको यो फिल्ममा आलोक शुक्लाको छायांकन, बनिष शाहको सम्पादन, एसडी योगी र दीपक शर्माको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ ।

टिकट लिनको लागि एन एस सिनेमा हलको चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ । हलको संपर्क नम्बर ०५७-५२०९४९ मा अग्रिम बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक किशोर राज पौडेलले बताए ।