सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न भरतपुर महानगरपालिकाले महानगरभित्रका दुई विद्यालयलाई स्कुल बस र विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेलका अनुसार साझापुर मावि मेघौली र श्री मावि ढड्डाघारीलाई बस खरिदका लागि बजेट उपलब्ध गराउन सम्झौता गरिएको हो ।

यस वर्ष दुईवटा सामुदायिक विद्यालयलाई स्कुल बस खरिद गर्न बजेट उपलब्ध गराउने सम्झौता गरेको महानगरले गत वर्षमा नारायणी मावि, भीमनगर मावि, कविलास मावि, प्रभात मावि र लक्ष्मी मावि गरी पाँचवटा माविलाई बस खरिदका लागि बजेट उपलब्ध गराइएको थियो । महानगरपालिकाले बस खरिदका लागि १७ लाख ५० हजार रुपियाँका दरले बजेट उपलब्ध गराउँदै आएको छ ।

महानगरपालिका प्रमुख रेनु दाहालले विद्यालय शिक्षाको गुणस्तर वृद्धि र सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन लगानी गर्दै आएको बताउनुभयो । उहाँले महानगरले विद्यालयको भौतिक पूर्वाधार विकासमा मात्र ध्यान नदिएको बताउँदै शैक्षिक गुणस्तर वृद्धि र पढाइ पूरा नगर्दै स्कुल छोड्ने दरमा कमी ल्याउनका लागि सहयोग गर्दै आएको बताउनुभयो ।महानगरले स्कुल बससँगै छात्रालाई साइकलसमेत वितरण गरेको छ । महानगर प्रमुख दाहालका अनुसार महानगरले कुल बजेटको १५ प्रतिशत रकम शिक्षामा लगानी गर्दैआएको छ ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो