चेल्सीमाथि आइतबार पेनाल्टी सुटआउटमा नाटकीय ११–१० को जितसहित इङ्लिस लिग कपको उपाधि जितेपछि लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले आफूहरूसामु इतिहास रच्ने चुनौती आएको प्रतिक्रिया दिएका छन्।

चेल्सीका गोलकिपर केपा अरिजाबागलाको ११औं पेनाल्टी प्रहार क्रसबार माथिबाट बाहिरिएपछि लिभरपुलले उपाधि पक्का गरेको थियो। लिभरपुलका क्लोपले सिजनको पहिलो प्रमुख प्रतियोगिता जितेको र अन्य तीन प्रमुख प्रतियोगिता जित्दै इतिहास रच्ने अवसर आएको बताएका हुन्।

निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि विजेताको टुङ्गो पेनाल्टी सुटआउटमा लगाइएको थियो। खेलमा कुल चार गोलले मान्यता पाएन। लिभरपुलका जोयल माटिपको गोलले मान्यता पाएन। त्यस्तै चेल्सीले पनि तीन पटक बललाई पोस्टको दिशा दिए पनि तीनै पटक सो गोलले मान्यता पाएन।

लिभरपुलका लागि यो कीर्तिमानी नवाैँ लिग कपको उपाधि हो। सन् २०१२ पछि लिभरपुलले घरेलु प्रतियोगिता जितेको यो पहिलो पटक हो।

गत सिजन फाइनल प्रवेश गरे पनि म्यानचेस्टर सिटीसँग निराश भएपछि क्लोपको टोली उपविजेतामा सीमित भएको थियो।

इङ्लिस प्रिमियर लिगमा लिभरपुल शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा ६ अंकले पछि छ। सिटीभन्दा लिभरपुलले एक खेल कम खेलेको छ। च्याम्पियन्स लिग अन्तिम १६ पहिलो लेगमा लिभरपुलले इन्टर मिलानमाथि २–० को अग्रता लिएको छ। लिभरपुलले बुधबार एफए कपको पाँचांै चरणमा नर्विच सिटीको सामना गर्दै छ।

‘यो सुरुआत मात्र हो। हामीले स्वाभाविक प्रदर्शन जारी राख्ने हो भने इतिहास रच्न सक्छाैँ,’ क्लोपले भने, ‘आशा छ यो उपाधिले आगामी खेलका लागि खेलाडीको मनोबल बढेको हुनुपर्छ।’

चेल्सीका प्रशिक्षक थोमस टचेलले किपा पेनाल्टी सुटआउटमा विफल भए पनि उनलाई वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गराउने निर्णयमा कुनै पछुतो नभएको बताए। यसै सिजन चेल्सीले युइएफए सुपर कपको उपाधि जित्ने क्रममा भिलारियालविरुद्ध पेनाल्टी सुटआउटमा जित हात पार्दा केपाले वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्दै पेनाल्टी बचाएका थिए।

‘यसअघि हामीले केपाकै उत्कृष्ट प्रदर्शनमा उपाधि जितेका थियौं, त्यसैले उनलाई मैदान पठाएको हुँ,’ टचेलले भने, ‘सबै खेलमा ११ पेनाल्टी प्रहार हुँदैन। उनले हतारिएर प्रहार गरे।’

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो