हेटौंडा । बागमती गाउँपालिका वडा नम्बर १ र २ लाई जोड्ने चिरुवा खोलामा पुल निर्माणका लागि अर्थ मन्त्रालयबाट २५ करोड रुपैयाँको स्रोत सहमति पक्का भएको छ। लामो समयदेखि पुल अभावका कारण स्थानीयवासीले भोग्दै आएको सास्ती, दुख र जोखिम अब अन्त्य हुने दिशातर्फ अघि बढेको छ ।
वर्षायाममा खोलामा पानी बढ्दा स्थानीयवासीहरू ज्यानकै जोखिम मोल्दै आवतजावत गर्न बाध्य थिए। पुल निर्माणसँगै अब सो जोखिमपूर्ण अवस्था इतिहास बन्ने विश्वास गरिएको छ । प्रतिनिधि सभाअन्तर्गत पूर्वाधार विकास समितिका सभापति एवं पूर्व मन्त्री तथा राप्रपाका नेता दीपक बहादुर सिंहको निरन्तर पहल, दबाब र नेतृत्वदायी भूमिकाका कारण उक्त पुल निर्माणका लागि बजेट सुनिश्चित भएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत चालु आर्थिक वर्षको बजेट व्यवस्थापन प्रक्रियामा उक्त योजना समावेश भएको पत्रमार्फत उल्लेख गरिएको छ । स्थानीयवासीहरूले पुल निर्माणको प्रक्रिया अघि बढाउन निर्णायक भूमिका निर्वाह गर्नुभएकोमा पूर्व मन्त्री सिंहप्रति हार्दिक आभार तथा सम्मान व्यक्त गरेका छन् ।
दृढ इच्छाशक्ति र जनताप्रतिको प्रतिबद्धताकै कारण वर्षौंदेखिको सपना साकार हुने चरणमा पुगेको उनीहरूको भनाइ छ । पुल निर्माण सम्पन्न भएपछि आवतजावत सहज हुनुका साथै शिक्षा, स्वास्थ्य, व्यापार–व्यवसाय र समग्र विकासले नयाँ गति लिने अपेक्षा गरिएको छ।



















प्रतिक्रिया दिनुहोस्