हेटौंडा । हेटौंडा–५,स्थित पिप्ले–क्याम्पा रंगशालामा जारी पाँचौ संस्करणको मेयरकप फुटबल प्रतियोगितामा  मंगलबारको  पहिलो खेलमा हेटौंडा–१ विजयी भएको छ । हेटौंडा-१ ले हेटौंडा–१४ लाई टाइब्रेकरमा ४-२ गोलले पराजित गरेको छ । खेलको निर्धारित समय २-२ गोललो बराबरीमा रोकिएपछि टाइब्रेकरमा पुगेको थियो  । खेलको म्यान अफ द म्याच हेटौंडा-१ का विश्व लामा घोषित भएका छन्  ।

उपमहानगरपालिकाको सहयोगमा सञ्चालन भएको प्रतियोगितामा १९ वटा वडाको सहभागिता रहेको आयोजक नगर खेलकुद विकास समितिका सदस्य विजय गौतमले बताएका छन्  । प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले २ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीका लागि २० हजार रुपैयाँको नगद पुरस्कारको व्यवस्था गर्दा उत्कृष्ट फरवार्ड, मिडफिल्ड, डिफेन्स, गोलरक्षक र उत्कृष्ट प्रशिक्षकका लागि जनही १०÷१० हजार रुपैयाँको नगद पुरस्कारको व्यवस्था गरिएको छ ।