हेटौंडा फुटबल एकेडेमीको टिम । फाइल तस्वीर ।

हेटौंडा । दोस्रो संस्करणको माधवपूर गोल्डकप फुटबल प्रतियोगितामा मकवानपुरको हेटौंडा फुटबल एकेडेमीको टिम सहभागी हुने भएका छन् । चितवनको रत्ननगरपालिका वडा नम्बर–१५,स्थित माधवपूर खेलकुद विकास समितिको आयोजनामा हुने माधवपूर गोल्डकप फुटबल प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमीको टिम सहभागी हुने भएका हुन् । यही शनिबारबाट सुरु हुने फुटबल प्रतियोगितामा आफ्नो टिमलाई सहभागी गराउनका लागि तयारी गरिरहेको हेटौंडा फुटबल एकेडेमीका संस्थापक अध्यक्ष तथा प्रशिक्षक भीम लामाले बताएका छन् ।

प्रशिक्षक लामाले एकेडेमीका खेलाडी विभिन्न प्रतियोगितामा सहभागी गराउँदै आएको बताएका छन् । गत वर्षबाट आयोजना गर्न सुरु गरेका गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हुन एकडेमीका लागि गौरवका कुरा रहेको प्रशिक्षक लामा बताउँछन् । हेटौंडा–४,स्थित हुप्रचौरमा नियमित रुपमा ८० जना खेलाडीलाई फुटबल प्रशिक्षण दिइरहेको उनले बताए । उनका अनुसार प्रशिक्षणमा सहभागी हुने खेलाडीहरु मध्ये ३० जना जुनियर र १६ जना सिनियर खेलाडीहरु पनि रहेका छन् । प्रशिक्षणमा सहभागी हुने खेलाडीलाई नियमित एक घण्टादेखि डेढ घण्टा सम्म प्रशिक्षण दिने गरेको उनले बताए । उनले आफ्ना महिला खेलाडीलाई महिला मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा समेत सहभागी गराएका थिए ।

विभिन्न ठाउँहरुका खेलाडीहरुलाई राष्ट्रियसँगै अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धा गराउन, क्षमतावान खेलाडीको उत्पादनमा जोडदिन र खेलकुदको माध्यमबाट चितवनको माधवपूरको पहिचान बढाउन गएको वर्षबाट प्रतियोगिता आयोजना गर्न सुरु गरेको उनले बताए । आयोकले यस खेलकुदको माध्यमबाट पयर्टन क्षेत्रको समेत विकास गर्न योजना बनाएको उनले बताए । प्रतियोगिताको उद्धाटन कार्यक्रम बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यमा गर्ने योजना रहेको बताइएको छ । जेठ १८ गते आइतबार सम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहने उनले बताए । प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमीसिहत बागमती पुलिस क्लब हेटौंडा, एपीएफ प्याराडाइज युवा क्लब हेटौंडा, अभिषेक चर्च रजहर, सूर्यपूर फुटबल क्लब, आयोजक र न्यूपञ्चदीप युवा क्लबको सहभागिता रहने उनले बताए । रत्ननगर पालिकाको संरक्षणमा तथा एक्सपर्ट एजुकेशन एण्डभीजा सर्भिसेज प्राइभेट लिमिटेडको प्रयोजनामा प्रतियोगितामा माधवपूर खेलमैदानमा हुनेछ ।

प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख २२ हजार २ सय २२ रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेता टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि नगद पुरस्कार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । भीमराज वाइबाको संयोजनमा हुने प्रतियोगितामा सहभागी हुनका लागि बिहीबार सम्म टिम दर्ता गराइसक्नुपर्ने बताइएको छ ।

माधवपूर खेलकुद विकास समितिले जारी गरेको सूचना ।