राममणि दाहाल

हेटौँडा उपमहानगरपालिका–५ स्थित सरकारी स्वामित्वको माछा पोखरी हेटौँडावासीका लागि खासै चासोको स्थल होइन । न त स्थानीयले संरक्षणप्रति नै चासो देखाएका थिए न त स्थानीयका लागि आकर्षकस्थल । पछिल्लो समय उपमहानगरपालिकाले माछापोखरीको बीच भाग भएर गएको कान्ति लोकपथको पेटीमा विश्रामस्थलसहित फूल रोपेपछि माछा पोखरी वरपर र बजार क्षेत्रका केहीको साँझ बिहान टहलिने गन्तव्य बनेको थियो ।

तर, केही दिनयता माछापोखरी एकाएक ‘भाइरल’ बनेको छ । सेल्फी खिच्नेदेखि टिकटक बनाउनेसम्मको भीड थामिनसक्नुहुन्छ । बिदाको र बिहान साँझपख किशोर किशोरीदेखि युवा युवतीसम्मको जोडी र बालबालिकादेखि वृद्धवद्धासम्म सपरिवारको घुइँचो लाग्ने गरेको छ । कोरोना कहरका कारण घरमा खुम्चिएर बसेकाहरूका लागि यतिबेला माछापोखरी अल्पकालीन पर्यटकीय गन्तव्यमा परिणत भएको छ । पछिल्लो एक सातादेखि माछापोखरी सामान्य नागरिकदेखि सरकारी अधिकृतसम्मको सेल्फी खिच्नेदेखि टिकटक बनाउने रोजाइको स्थल बनेको स्थानीय बासिन्दाले बताएका छन् ।

प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र, हेटौँडाको जीर्णोद्धारको क्रममा पानी सुकाएको माछापोखरी चिरा–चिरा परेर हरियो दुवोसहितको घाँसले मनै लोभ्याउने आकर्षणको थलोमा परिणत भएको छ । यहाँ हेटौँडा बजार आसपासका क्षेत्रसँगै छिमेकी जिल्लाका युवा युवतीको समेत ओइरो लाग्न थालेको छ ।

फेसबुक र टिकटिकमा माछापोखरी एकाएक भाइरस बनेपछि हेटौँडा बजारबाट आठ किलोमिटरको दूरीमा रहेको हेटौँडा उपमहानगरपालिका–३ स्थित लेवटबाट रमेश बर्तौला सपरिवार घुम्न पुग्नुभयो । माछापोखरी भाइरस भएको देखेपछि घुम्न आएका हौँ, समय कटाउन सहज र रमाइलो पनि भयो, परिवारका सदस्यहरू टिकटिक बनाउँदै छन्, टिकटिक बनाउँदै गरेका आफन्तलाई देखाउँदै बर्तौलाले भन्नुभयो ।

यस्तै हेटौँडा उपमहानगरपालिका–१३ स्थित पदमपोखरीका सुदीप मगरसँगै आएकासँग टिकटक बनाउन र तस्बिर खिच्न व्यस्त हुनुहुन्थ्यो । उहाँले नयाँ अनुभूति भएको र नसोचेको रमाइलो भएको बताउनुभयो । हेटौँडा र आसपासका क्षेत्रको मात्र होइन, लामो समयदेखि सफा नगरेका कारण विषाक्त बन्दै गएको माछापोखरी निर्मलीकरण गर्न सुकाउने क्रममा मनमोहक बनेपछि मकवानपुरको छिमेकी जिल्लाका युवायुवतीसमेतको आकर्षणको थलो बनेको छ ।

बाराको सिमराबाट विमला तामाङ साथीसहित सेल्फी खिच्न र टिकटक बनाउन माछापोखरी आइपुग्नुभयो । सामाजिक सञ्जाल र टिकटकमा भाइरस बनेको देखेपछि हामी सिमराबाट आएको हौँ, रमाइलो लाग्यो, माछापोखरी पुग्नुभएका विमलाको प्रतिक्रिया थियो ।

पछिल्लो समय किसानले मेहनत र ठूलो लगानी गरेर लगाएको तोरी माड्दै सेल्फी हान्न र टिकटक बनाउन लाग्ने तन्नेरीहरूलाई माछापोखरीको पानी सुकाउने क्रममा जमिन पटपट फुटेर घाँस पलाएपछिको मनमोहक हरियालीले तान्नु नौलो भने होइन ।

प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र, हेटौँडाका वरिष्ठ मत्स्य विकास अधिकृत सरोज यादव लामो समयदेखि माछापोखरी सफा नगरिएकाले माछाका लागि विषाक्त बन्दै गएको र पोखरीका डिलहरू होचो भएकोले वर्षायाममा पोखरी आसपासको बस्ती डुबानमा पर्न थालेपछि जीर्णोद्धार थालिएको बताउनुहुन्छ । पोखरीको पानी सबै सुकाएपछि ट्याक्टर लगाएर घाँस छरेर फेरि ट्याक्टर लगाउने योजनाअनुसार पानी सुकाइएको बताउँदै उहाँले पोखरीको पानी सुकाउने क्रममा चिराचिरा परी घाँस पलाएर आकर्षक बनेपछि फोटो खिच्ने र टिकटक बनाउनेको भीड लागेको बताउनुभयो ।

उहाँले डिल उकासेर घाँस छर्न ट्याक्टर लगाउने क्रममा २० मध्ये १८ वटा पोखरीमा ट्याक्टर लगाउने काम भएको बताउँदै माछाको दिसा र फोहोरले ब्याक्टेरियाका कारण पोखरीको पानी विषाक्त बनेकोले पानी सुकाइएको बताउनुभयो । वैशाखपछि पानी हालेर माछाका भुरा हाल्ने केन्द्रको योजना छ ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो