रोशन दिप – नेपालमा राजनीतिक नेतृत्व छनोट लोकतान्त्रिक पद्धति अनुसार निर्वाचनबाट गरिँदै आएको छ। त्यसैले विद्यार्थीलाई निर्वाचनको प्रक्रिया बारे बुझाउन बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका वडा नं ४ कमलडाँडा स्थित ब्रह्मदिक् एकेडेमीमा सोमबार हाउस क्याप्टेन छनोट निर्वाचन गरिएको छ ।
निर्वाचनमा कक्षा ६ देखि १० सम्मका उठेका २० जना विद्यार्थी उम्मेदवाहरु मध्ये ९ कक्षाका अजित कुमार यादव, १० कक्षाका साइमन कार्की, ९ कक्षाकी खुसी लामिछाने र १० कक्षाकी साविया कार्की गरी ४ जना विद्यार्थी हाउस क्याप्टेनमा निर्वाचित भएका छन् ।
एकेडेमीका नेपाली विषय शिक्षक युवराज विश्वकर्माबाट प्राप्त जानकारी अनुसार विद्यार्थीहरूमा प्रजातान्त्रिक व्यवस्थाअनुसार आफूले चाहेको नेतृत्व कसरी छान्ने भन्ने कुराको नमुना प्रस्तुत गर्न निर्वाचन गरिएको हो ।
उनले विजयी विद्यार्थीहरुलाई शुभकामना दिँदै उनीहरुको सहयोगमा विद्यालयमा विभिन्न कार्यक्रमहरु निरन्तर भइरहने बताउदै विजयी विद्यार्थीहरुलाई विद्यालयको नियमभित्र रही काम गर्न सुझाव समेत दिएका छन् ।
विद्यालयले निर्वाचनको अभ्यास गर्न गत बर्षदेखि सुरु गरेको थियो । एउटा सेक्सनबाट एक छात्र र एक छात्रालाई उम्मेदवार हुने अवसर दिइएको निर्वाचनमा ६ कक्षादेखि १० कक्षासम्मका विद्यार्थी उम्मेदवार हुने व्यवस्था गरिएको थियो भने कक्षा ५ देखि कक्षा १० सम्मका जम्मा ४ सय ३८ विद्यार्थीले मतदान गरेका थिए । निर्वाचनको प्रक्रिया असार १९ गते उम्मेदवारी दर्ता गरी सुरु गरिएको थियो ।
निर्वाचित ४ जना विद्यार्थीलाई ४ वटा हाउस क्याप्टेनको जिम्मेवारी दिइने बताइएको छ । मकवानपुर जिल्लामा प्रदेश सभाको ४ वटा क्षेत्रलाई संकेत गर्ने गरी ४ वटा हाउसको क्याप्टेनको निर्वाचन गरिएको हो । विद्यालयले शिक्षण सिकाइ क्रियाकलापलाई समेत सहज हुने गरी विद्यार्थीबीच निर्वाचनका लागि आवश्यक सामग्री जिल्ला निर्वाचन कार्यालय मकवानपुरबाट सहयोग लिई उपलब्ध गराएको हो ।
प्रतिक्रिया दिनुहोस्