नेपाल बाल संगठनका तत्कालीन पदाधिकारी र कर्मचारीको मिलेमतोमा नक्सालस्थित बाल मन्दिरको २९ रोपनी ४ आना जग्गा ५९ वर्षसम्मका लागि सस्तो भाडा दरमा भोगचलन गर्न दिइएको खुलेको छ । संगठनले २०७२ सालमा उक्त सरकारी जग्गा वार्षिक ९० लाख रुपैयाँ भाडा बुझाउने गरी विसं २१३१ सम्मका लागि बृहस्पति विद्या सदनलाई दिएको हो ।

 

काठमाडौंको नक्सालस्थित बाल मन्दिरको २९ रोपनी जग्गा सस्तो भाडामा भोगचलन गरिरहेको बृहस्पति विद्या सदन र त्यसैमध्येको ५ रोपनी जग्गा बृहस्पतिसँग ‘सबलिज’ मा लिएको राय स्कुल । तस्बिर स् दीपक केसीरकान्तिपुर
यसअघिको सम्झौता नसकिँदै संगठनले बृहस्पतिलाई उक्त जग्गा बैंकमा ‘लियन’ ९एक किसिमको धितो, जुनबापतको रकम चुक्ता नगरेसम्म बैंकले स्वामित्व ग्रहण गर्नरराख्न सक्छ० राखेर कर्जा निकाल्न पनि स्वीकृति दिएको छ । कानुनअनुसार सरकारी जग्गा धितो राखेर बैंकबाट कर्जा लिन पाइँदैन । स्रोतका अनुसार बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्य, अन्य पदाधिकारी र कर्मचारीको मिलेमतोमा बैंकबाट कर्जा लिन पाउने गरी बृहस्पतिसँग सम्झौता भएको थियो । बृहस्पतिका ‘अपरेसन डिपार्टमेन्ट’ प्रमुख विनोद बडालले बाल संगठन र सदनबीच भएको सम्झौताका आधारमै बैंक अफ काठमान्डुमा जग्गाको भौतिक संरचना, आर्थिक कारोबार र संस्था जमानत बसेर ३१ करोड ३३ लाख रुपैयाँ कर्जा लिएको स्वीकार गरे ।

 

सरकारी जग्गा कानुनी प्रावधानविपरीत भोगचलनका लागि दिइएकोमा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । ‘बाल संगठनको हकहितमा प्रयोग गर्नुपर्ने जग्गा कानुनी प्रावधान कुल्चेर अस्वाभाविक रूपमा सस्तोमा लिजमा दिएको देखिएपछि विस्तृत अनुसन्धान गरिरहेका छौं,’ अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले कान्तिपुरसँग भने ।

तत्कालीन अध्यक्ष वैद्यकै अगुवाइमा २०४९ मा विभिन्न जिल्लामा रहेको बाल संगठनको जमिन निजी सम्पत्तिसरह भोगचलन र किनबेच गर्न पाइने विवादास्पद प्रावधानसहित संगठनको विधान तयार गरिएको थियो । पछि त्यही विधानको आधारमा वैद्यले बृहस्पतिलाई सस्तोमा जग्गा भाडामा दिने निर्णय गरेकी थिइन् । २०४१ मा स्थापना भएको बृहस्पति २०४९ मा सरकारी जमिन हात पारेर बाल मन्दिर परिसर छिरेको हो । बृहस्पतिलाई २०५९ सम्म पटक–पटक पूरक सम्झौता गरी जग्गाको क्षेत्रफल बढाएर १४ रोपनीसम्म भोगचलन गर्न दिइएको थियो । २०५९ भदौ ११ मा भने थप १३ रोपनी १२ आना १ पैसा जग्गा भाडामा दिने गरी ३० वर्षे सम्झौता गरियो । कागजमा १३ रोपनी १२ आना देखाइए पनि बृहस्पतिलाई १४ रोपनी ९ आना भोगचलन गर्न दिएको पाइएको अख्तियार स्रोतले बताएको छ ।

जग्गा भाडामा दिँदा कहिल्यै प्रतिस्पर्धा गराइएन । ३० वर्षे सम्झौता हुँदा प्रत्येक २ वर्षमा ५ प्रतिशतका दरले भाडा वृद्धि हुने तर सुरु र अन्तिम ५र५ वर्ष बढेको भाडा तिर्नु नपर्ने उल्लेख थियो । सम्झौताको म्याद २०८८ सम्म थियो तर म्याद सकिन १६ वर्ष बाँकी रहँदै २०७२ जेठ २१ मा संगठनले प्रतिवर्ग फिट ६ रुपैयाँ कायम गरी २९ रोपनी ४ आना जग्गा बृहस्पतिलाई भाडामा दिने सम्झौता गरेको हो । थप ४३ वर्षका लागि जग्गा बृहस्पतिलाई सुम्पन संगठनले पूरक सम्झौता गरेको अख्तियार स्रोतको दाबी छ । ‘बृहस्पतिकै प्रस्तावमा २९ रोपनी ४ आना जग्गाको भाडा वार्षिक ९० लाख रुपैयाँ कायम गरिएको छ । यो प्रक्रिया अघि बढ्दा पनि बोलकबोल गराएको पाइएन,’ अख्तियार स्रोतले भन्यो ।

 

संगठनबाट लिएको जग्गामध्ये ५ रोपनी मात्रै बृहस्पतिले ५० वर्षका लागि राय स्कुललाई दिएको छ । तर २०७६ यता बृहस्पतिले राय स्कुलसँग उक्त जग्गाको भाडा मासिक ५ लाख रुपैयाँका दरले वार्षिक ६० लाख रुपैयाँ उठाउँदै आएको छ ।

राय स्कुल भारतीय बोर्डअन्तर्गत सञ्चालित छ । बृहस्पति र राय स्कुल अहिले एउटै व्यवस्थापनबाट सञ्चालन भइरहेको बृहस्पतिका अपरेसन विभाग प्रमुख बडालले बताए । ‘हामीले बाल संगठनबाट कानुनअनुसार नै लिजमा लिएर २१३१ सालसम्मको भोगाधिकार पाएका हौं । भोगाधिकार पाएपछि २०७६ यता राय स्कुल पनि त्यही परिसरमा आएको हो,’ उनले भने, ‘दुवै स्कुलको व्यवस्थापन एउटै हो ।’

बाल मन्दिरको सम्पत्ति चरम दोहन भएको पाइएपछि सरकारले २०७६ कात्तिकमा पूर्वन्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा जाँचबुझ आयोग बनाउँदै वैद्य नेतृत्वको कार्यसमिति भंग गरेको थियो । जाँचबुझ आयोगले पनि २०४९ बाटै तत्कालीन कार्यसमितिका पदाधिकारी, सदस्य र कर्मचारीको मिलेमतोमा बाल संगठनको सम्पत्ति दोहन गरेर व्यक्तिको भोगाधिकारमा लगिएको निष्कर्ष निकालेको थियो । त्यही प्रतिवेदनका आधारमा अहिले अख्तियारले अनुसन्धान गरिरहेको हो ।

२०७७ साउनमा गठित बाल संगठनको तदर्थ समिति अध्यक्ष विद्या न्यौपानेले संस्थाको चलअचल सम्पत्ति पटक–पटकको ‘सेटिङ’ बाट वृहस्पतिले ‘कौडीको भाउ’ मा हत्याएको बताइन् । ‘बृहस्पतिले पहिलेको लिज अवधि नसकिँदै थप ४३ वर्षका लागि जग्गा लिएको, राय स्कुललाई सबलिजमा ५० वर्षका लागि जग्गा भोगाधिकार दिएको लगायत विषयमा अख्तियारले मसँग सोधपुछ गरेको थियो,’ न्यौपानेले भनिन्, ‘३र४ पटक अख्तियारमै गएर बयान दिइसकेकी छु ।’ उनले सरकारी प्रयोजनका लागि पञ्चायतकालमा व्यक्तिबाट अधिग्रहण गरी असहाय बालबालिकाको हकहित र संरक्षण गर्न ल्याएको जग्गा सस्तो भाडामा दिनुमा बदनियत रहेको दोहोर्‍याइन् । ‘यसमाथि सूक्ष्म अनुसन्धान गरी कसुरमा संलग्नलाई कारबाही हुनुपर्छ,’ उनले भनिन् ।

तत्कालीन अध्यक्ष वैद्य भने बयानका लागि पटक–पटक ताकेता गर्दा पनि अख्तियारमा हाजिर भएकी छैनन् । पछिल्लो पटक बयानमा बोलाउँदा उनले कोरोना संक्रमणको जोखिम कम भएपछि आउने जानकारी गराएकी थिइन् । भाडासम्बन्धी निर्णयमा संलग्न २०४९ देखि २०७६ सम्म संगठनमा आवद्ध पदाधिकारी, सदस्य र कर्मचारीसमेत अनुसन्धानको दायरामा तानिएको र अध्यक्ष वैद्यबाहेक सबै व्यक्तिमाथि बयान लिइसकेको अख्तियारले जनाएको छ ।

यसरी भयो जग्गा हत्याउने खेल

बाल संगठनले २०४९ वैशाख २६ मा पहिलो पटक बृहस्पतिसँग संगठनको नाममा रहेको कित्ता नम्बर ७६० को ९ रोपनी जग्गा र घररटहरा २०५३ माघ १० सम्म भाडामा दिने सम्झौता गरेको थियो । जसको वार्षिक भाडा दर ४२ लाख १६ हजार ६ सय ८ रुपैयाँ थियो । अग्रिम भुक्तानी दिए भाडा रकममा २० प्रतिशत छुट दिने बुँदासमेत सम्झौतामा थियो । सम्झौताअनुसार बृहस्पतिले भाडा तिरेको विवरण संस्थाको अभिलेखमा नदेखिएको अख्तियार स्रोतले बतायो । तर, बाल संगठनले सम्झौताको म्याद ५ वर्ष थपिदिएको थियो ।

बाल संगठनले २०५८ जेठ ८ मा थप ५ रोपनी २ आना जग्गा यसअघि तोकिएको वार्षिक भाडामा १० प्रतिशतले वृद्धि गर्दै पूरक सम्झौतामार्फत बृहस्पतिलाई दिएको देखिन्छ । जबकि बृहस्पतिले २०५७ माघ ६ मा बाल संगठनलाई पत्र पठाउँदै थप २ रोपनी जग्गा मात्र मागेको थियो । पूरक सम्झौतामा संगठनका तर्फबाट तत्कालीन निर्देशक राजेश्वर निरौलाले हस्ताक्षर गरेका थिए । मागेको भन्दा बढी जग्गा दिएबापत बाल संगठनका पदाधिकारीले बृहस्पतिसँग अपारदर्शी लेनदेन गरेको हुन सक्नेमा छानबिन भइरहेको अख्तियार स्रोतले बतायो ।

त्यति बेला बृहस्पतिले भोगचलन गरिरहेको जग्गाको वार्षिक भाडा ३० लाख रुपैयाँ थियो । वृहस्पतिले २०५९ साउन २१ मा थप १३ रोपनी जग्गा लिन भाडा अवधि ३० वर्ष र मासिक भाडा दर ४ लाख ८० हजार रुपैयाँ हुने गरी बाल संगठनलाई प्रस्ताव गर्‍यो । साउन ३० मै बसेको बाल संगठनको केन्द्रीय समिति बैठकले महासचिव रामकाजी कोनेलाई कित्ता नम्बर ७६० अन्तर्गतको १३ रोपनी १२ आना १ पैसा क्षेत्रफलको जग्गा २०८८ सम्मका लागि बृहस्पतिलाई भाडामा दिने गरी सम्झौता गर्न अधिकार दियो । यस पटक पनि बृहस्पतिले मागेभन्दा १२ आना १ पैसा बढी जग्गा पाउने निश्चित भयो । बृहस्पतिको प्रस्तावअनुसार नै २ वर्षमा ५ प्रतिशतका दरले भाडा वृद्धि गर्ने, पहिलो र अन्तिम ५ वर्षमा भाडा वृद्धि नगर्ने र १५ वर्षभित्रमा ५ करोडको सम्पत्ति अभिवृद्धि गर्ने गरी सम्झौताको अख्तियारी दिइएको थियो । त्यसकै आधारमा २०५९ भदौ ११ मा संगठन र बृहस्पतिबीच ३० वर्षका लागि सम्झौता भएको हो । सम्झौता २०५९ वैशाख १ देखि लागू हुने भनिएको छ । सम्झौतामा संगठनका तत्कालीन उपाध्यक्ष योगेन्द्रबहादुर शाही, महासचिव रामकाजी कोने र प्रशासन तथा खरिद शाखा प्रमुख टीकामणि न्यौपानेले हस्ताक्षर गरेका थिए ।

त्यसपछि सस्तोमा जग्गा भाडामा दिएको भन्दै संगठनका सञ्चालकबीच विवाद सुरु भयो । अख्तियारमा उजुरी परेपछि छानबिन सुरु भयो । अख्तियारले भाडा पुनरावलोकन गर्न निर्देशन दियो । तर भाडा पुनरावलोकन गर्न नसक्ने भनेर बृहस्पतिका तर्फबाट प्रमुख प्रशासक मुरारीनिधि तिवारीले २०६६ मंसिर ७ मा पत्र पठाए । त्यसपछि बाल संगठनको केन्द्रीय कार्यसमिति बैठकले २०६६ पुस १४ मा बृहस्पतिसँग १३ रोपनी १२ आना १ पैसा जग्गाको लिज सम्झौता भंग गर्ने निर्णय गर्‍यो । संगठनका महासचिव कृष्णशंकर साहले बैठकको निर्णयबारे २०६६ पुस ३० मा त्यही दिनबाटै लागू हुने गरी बृहस्पतिलाई जानकारी दिए ।

२०६६ माघ २८ मा सुवासकुमार पोखरेल संयोजकत्वमा राजेश्वर निरौला, सन्तोष भट्टराई, कृष्णशंकर साह र मनोहर गोपाल श्रेष्ठ सम्मिलित बाल संगठनको स्रोत व्यवस्थापन समितिको बैठक बस्यो । बैठकले बृहस्पतिबाट फिर्ता गरिएको जग्गा तरुण निर्माण सेवालाई रजिस्ट्रेसन पास गरी दिने निर्णय गर्‍यो । तरुणका सञ्चालक मनोजकुमार मिश्र थिए । जग्गा रजिस्ट्रेसनको अख्तियारी साहलाई दिइएको थियो । २०६६ माघ १३ मा तरुणलाई रजिस्ट्रेसन पास दिँदा सरकारको सहमति लिइएको थिएन । सम्झौता गरिए पनि बृहस्पतिले जग्गा छाडेको थिएन ।

सम्झौता भएपछि तत्कालीन अध्यक्ष वैद्यले तरुणसँगबाट ७५ लाख रुपैयाँ पनि लिएको प्रमाणित भइसकेको छ । पूर्वन्यायाधीश भट्टराई नेतृत्वको जाँचबुझ आयोगलाई वैद्यले ‘संगठनको खर्च चलाउन’ भनेर उक्त रकम लिएको स्वीकारसमेत गरेकी छन् । जबकि त्यो रकम संगठनको कोषमा दाखिला नै नगरिएको पाइएको छ । अर्कातर्फ भोगचलन गरिरहेको जग्गाको सम्झौता एकतर्फी भंग गरेको भन्दै बृहस्पति सर्वोच्च अदालत पुग्यो । दुवै पक्षबीच २०७२ जेठ २१ मा अदालतमा मेलमिलाप भयो र पुनः सस्तोमा बृहस्पतिलाई नै जग्गा दिने निर्णय भयो ।

अघिल्लो सम्झौता सकिने म्याद २०८८ बाट ४३ वर्ष अवधि थप गर्ने, अन्तिम ८ वर्षको बहाल नबढ्ने, यस अवधिमा बृहस्पतिले ५२ करोडको सम्पत्ति अभिवृद्धि गर्ने, जग्गा लियन र सबलिजमा दिन सक्ने र ६ महिनाभित्र बाल संगठनलाई २ कोठे भवन बनाइदिने गरी कानुनविपरीत मिलापत्र गरियो । त्यही मिलापत्रको आडमा बृहस्पतिले २०७२ साउन ३ मा पूरक सम्झौताबाट विसं २१३१ सम्मका लागि जग्गा हत्याएको हो । पूरक सम्झौतामा सरकारी जग्गा लियन राखी बैंकसँग कारोबार गर्न सक्ने व्यवस्था छ । त्यसलाई जाँचबुझ आयोगले बदनियतपूर्ण रूपमा गरिएको सम्झौता भनेको छ ।

बृहस्पतिले जग्गा धितो राखी २०७५ भदौ २६ मा ३० करोड रुपैयाँ १० वर्षभित्र चुक्ता गर्ने गरी र असोज १ मा १ करोड ३३ लाख रुपैयाँ १ वर्षका लागि नवीकरणीय ऋण लिएको बैंक अफ काठमान्डुले अख्तियार र त्यसअघि जाँचबुझ आयोगलाई पठाएको पत्रमा उल्लेख छ । लियन राखेको सम्पत्तिको हैसियत अरू बेला बैंकमा धितो राखी रकम लिएको सरह मानिन्छ । कर्जा समयमै चुक्ता नगरे बैंकले लिलाम गर्न सक्छ । सरकारी जग्गामा बनेका संरचना धितो राखेर कर्जा निकाल्न स्वीकृति दिने बाल संगठनको ‘गैरकानुनी सम्झौता’ माथि पनि अख्तियारले छानबिन गरिरहेको बताइएको छ ।

बृहस्पतिका अपरेसन हेड बडालले अदालतमा मिलापत्र गरी भोगाधिकार पाएको विषयमा अब विवाद गर्न आवश्यक नभएको जिकिर गरे । ‘भृकुटीमण्डपको जग्गा सामान्य पैसामा भाडामा लगाउँदा हुने, हामीले त बाल संगठनसँग वार्षिक करिब १ करोड रुपैयाँ भाडा तिर्ने गरी लिजमा लिएका हौं,’ उनले भने, ‘बेवारिसे अवस्थामा रहेको जग्गा हाम्रोमा आएपछि संरक्षण भएको छ ।’

जग्गामा को–को छिरे रु

राणा प्रधानमन्त्री भीमशमशेरकी पत्नी सीताका नामबाट बनाइएको दरबार २०२१ मंसिर १७ मा अधिग्रहण गरी असहाय बालबालिकाको हकहित र उनीहरूको रेखदेख गर्न केन्द्रीय बालकल्याण समितिको स्वामित्वमा राखिएको थियो । पञ्चायतकालभर बाल मन्दिर र देशका विभिन्न जिल्लामा रहेका बाल संगठनका नाममा भएका जग्गाको संरक्षण तत्कालीन राजदरबारले गर्थ्यो । राणाकालमा ‘टंगाल दरबार’ भनिने ‘सीता भवन’ अहिले बाल मन्दिरका रूपमा चिनिन्छ । गृह मन्त्रालयको अभिलेखअनुसार सीता भवनको १ सय १९ रोपनी १२ आना ३ पैसा जग्गा अधिग्रहण गरी बाल संगठनका नाममा राखिएको थियो ।

त्यसमध्ये ५ रोपनी जग्गा केन्द्रीय बहिरा माध्यमिक विद्यालयका लागि भोगाधिकार दिइएको छ । त्यस्तै, २ रोपनी अख्तियारले सवारी पार्किङका लागि प्रयोग गरिरहेको छानबिनबाट खुलेको छ । महानगरीय प्रहरी वृत्त कमलपोखरीको संरचनामा पोखरी विस्तार भएपछि त्यहाँबाट वृत्तलाई बाल मन्दिर परिसरको ५ रोपनी क्षेत्रफलमा स्थानान्तरण गरियो । ५० रोपनीभन्दा बढी जग्गा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानलाई भोगाधिकार दिइएको छ । प्रतिष्ठानको कार्यालय त्यहींभित्र छ । कित्ता नम्बर ७६० अन्तर्गतको ४ रोपनी २ आना जग्गा शिक्षा मन्त्रालयद्वारा सञ्चालित पौष्टिक आहार कार्यक्रमले निःशुल्क प्रयोग गरिरहेको छ । त्यसबाहेक ५१ रोपनी ३ आना १३ पैसा बाल संगठनका नाममा छ । त्यहीमध्येको २९ रोपनी ४ आना जग्गा बृहस्पति विद्या सदनले भोगचलन गरिरहेको हो । बृहस्पतिले पछिल्लो पटक बाल मन्दिरको मूलद्वारभित्रबाट पर्खालसमेत भत्काएर बाटो विस्तार गरेको छ ।

यो समाचार कान्तिपुरमा साभार गरिएको छ