नेपाल विद्युत् प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरूलाई १३२ केभी प्रसारण लाइनबाट विद्युत् आपूर्ति लिन आह्वान गरेको छ।

उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्ने अभियान अन्तर्गत प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरमा, सञ्चालनको तयारीमा रहेका, भविष्यमा खुल्ने र थप विद्युत् माग गर्ने उद्योगहरूलाई १३२ केभीबाट विद्युत् आपूर्ति दिने जनाएको छ।

त्यस क्षेत्रका उद्योगहरूले अहिले ११ र ६६ केभी लाइनबाट विद्युत् आपूर्ति लिइरहेका छन्। १३२ केभीबाट विद्युत् आपूर्ति लिएमा त्यसको महसुल सस्तो छ। उद्योगहरूले आफ्नो परिसरमा सबस्टेसन भने आफैंले निर्माण गर्नु पर्नेछ। महसुल सस्तो पर्ने र चुहावट पनि कम हुने भएकोले त्यसको तुलनामा सबस्टेसन निर्माण महँगो पर्दैन।

प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोर क्षेत्रमा ५ वर्षभित्रमा २ हजार मेगावाट विद्युत् खपत हुने गरी पूर्वाधार बनाउन बनाउन पहल सुरु गरेको छ। बारा–पर्सा औद्योगिक करिडोरमा पर्ने सिमरा, निजगढ, वीरगन्ज, परवानीपुर, पोखरिया, प्रसौनी लगायत क्षेत्रमा हाल सञ्चालनमा रहेका तथा आगामी दिनमा खुल्ने उद्योगलाई लक्षित गरी प्राधिकरणले उच्च क्षमताका विद्युत् प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना बनाउन लागेको हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा उच्चस्तरीय टोलीले शनिबार त्यस क्षेत्रको स्थलगत अवलोक भ्रमण गरी ४०० र १३२ केभी प्रसारण लाइन तथा सबस्टेसन निर्माणका लागि सम्भावित ठाउँ, विद्युत् माग तथा खपतको अवस्था लगायत विषयमा जानकारी लिएको छ। कार्यकारी निर्देशक घिसिङले बारा–पर्सा क्षेत्र आगामी दिनमा ठूलो औद्योगिक हब बन्ने सम्भावना देखिएकोले उच्च क्षमताका प्रसारण तथा वितरण लाइनसहितको विद्युतीय पूर्वाधार बनाउन लागिएको बताए। घिसिङले विरगन्ज, पोखरिया र सुक्खा बन्दरगाह क्षेत्रमा नयाँ उद्योग खुल्ने ठूलो सम्भावना देखिएको बताए।

‘त्यस क्षेत्रमा खुल्ले उद्योग र अन्य सर्वसाधारणलाई लक्षित गरी दुई हजार मेगावाट खपत हुने गरी विद्युतीय प्रणाली बनाउँदैछौं, तत्काल विद्युत् माग गर्ने उद्योगलाई ११, ६६ र १३२ केभी लाइनको सुदृढीकरण गरी मागेजति थप विद्युत् आपूर्ति उपलब्ध गराउने छौं,’ घिसिङले भने, ‘पर्साको पोखरियामा ४०० केभी र बाराका प्रसौनीमा १३२ केभी सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढाइसकेका छौं।’

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो