मिरमिरे उज्यालो हुनासाथ दलबहादुर र पवित्रा सुनार पूर्व–पश्चिम राजमार्ग छेउमै मकै व्यवसाय गर्न पुग्छन्। सोमबार पनि उज्यालो किरणसँगै मकै च्यापेर सडक छेउमै पुगे। सधैंझै आउने ग्राहक आएनन्। तस्करै चल्ने गाडी पनि गुडेनन्। दैनिकजसो हुने चहलपहल थिएन। अघिल्ला दिनहरु जस्तै भीडभाड भएन्। वरिपरि लस्करै राखिएका ठेला पनि सोमबार लागेनन्। किन यस्तो भएको त ? उनले केहीबेर पछि मात्र थाहा पाए। एमसीसीको विरोधमा पो बन्द रहेछ।
सोमबार नेपाल बन्दको जानकारी थिएन उनीहरुलाई। त्यसैले पनि बिहानै श्रीमान् श्रीमती मकै बिक्रीका लागि सडक छेउसम्म पुगेका थिए। बन्दले उनको आम्दानी शून्य बन्यो। आइतबार साँझ एमसीसी अनुमोदन हुँदा उनी दाङ पुग्दै थिए। दाङबाट मकै ल्याएर कोहलपुरमा बिक्री गर्नु उनको दैनिकी हो। ‘बन्द हुने भन्ने थाहा थिएन,’ दलबहादुरले भने, ‘बिहानै बुढाबुढी सडक छेउमा मकै बिक्री गर्न आयौं तर बिक्री भएन।’ साँझ ५ बजेतिरसम्म उनीहरुले एक रुपैयाँको पनि मकै बिक्री गरेका थिएनन्।
दाङबाट ल्याएका मकै बिक्री न त बिक्रिँदैनन् तर गुणस्तरतामा भने ह्रास आउने हुँदा घाटा लाग्ने उनी बताउँछन्। बन्दले राजनीतिकरुपमा कसलाई के कति फाइदा, घाटा र स्वार्थ पूर्ति भयो भएन उनलाई ज्ञान छैन, उनलाई यत्ति थाहा छ, ‘बन्दले व्यापार चौपटै बनायो।’ उनी आफैँ पनि बिरामी छन्। सडक पेटीबाट भएको व्यापारले उपचार खर्चसँगै घरपरिवारको लालनपालनमा खर्चिन्छन्।
उनीजस्तै नन्दकली चनाराले पनि बिहानै खाजानास्ताका परिकारहरु बनाइन्। तर ति खाजा नास्ताका परिकार बिकेनन्। साँझतिर उनले ति खाजानास्ता डस्टबिनमा फाल्दै थिइन्। ‘बन्द थाहा थिएन, बिहान धेरै खाजा नास्ता बनाए,’ उनी भन्छिन्, ‘बन्द रहेछ बिक्री नै भएन।’ उनले दिउँसो मात्र थाहा पाइन्, ‘एमसीसीले गर्दा बन्द भएको।’ एमसीसीका विषयलाई लिएर कुन दलले बन्द गराएको भन्ने पनि सामान्य दैनिक ज्याला मजदुरी गरेर खाने वर्गलाई थाहा छैनन्। बन्द कुन दलले गरायो भन्दा उनीहरुले फरकफरक दलको नाम लिए।
एमसीसीका विषयमा उनलाई केही जानकारी छैन। दुई थरिका कुरा मात्र सुनेकी छिन्। ‘कसैले देश बिक्री भयो। अब अमेरिकी सेना आउँछन् भन्छन्, त्यसैले एमसीसी ठिक छैन भन्ने कुरा सुनाउँछन्,’ उनी भन्छिन्, ‘केहिले भने एमसीसी आउँदा अब विकास रफ्तार ढंगले बढ्ने भयो। अब नेपालले काँचुली फेर्छ भनेर फुल्याउँछन्।’ कसको कुरा पत्याउने वा नपत्याउने उनी दोधारमा छिन्। अहिलेसम्म कुनै पनि राजनीतिक दल एमसीसीका विषयमा जानकारी गराउन जनताको दैलोसम्म पुगेका छैनन्। जसले एमसीसीका विषय जनता अनेकथरि कुरामा रुमलिएका छन्।
यतिबेला राजनीतिक दलहरुले एमसीसीका विषयमा जनतालाई स्पष्टसँग बुझाउनु पर्ने साना व्यवसायी कल्पना शाहीले बताइन्। ‘उसले भन्छ ठिकै लाग्छ, अर्काेले भनेको पनि राम्रै लाग्छ,’ उनले भनिन्, ‘राजनीतिक दल आफू अनुकूलभन्दा पनि यर्थातमा एमसीसी के हो कस्तो हो बुझाउन नागरिकको दैलोसम्म पुग्नु पथ्र्याे।’ उसोतः बन्दकर्ताहरुले पनि सडक चक्काजाम र नारा जुलुस लगाउनेबाहेक जनतासम्म पुगेर एमसीसीका विषयमा स्पष्ट पार्न सकेका छैनन्। जसले नागरिक एमसीसीका विषयमा स्पष्ट बन्न सकेका छैनन्।
अटो सञ्चालन गरेर दैनिक एक हजारसम्म आम्दानी गर्ने जयकृष्ण चौलागाईले पनि बन्दको मार नराम्री खेप्नु पर्यो। सोमबार जम्मा एक सय रुपैयाँ मात्र उनले कमाइ गरे। ‘त्यो एक यसले अटोमा पेट्रोल हालौँ वा घरपरिवार चलाउँ,’ उनले भने। कुनै पनि विषयमा विरोध जनाउँदा बन्दनै गर्नुपर्ने परिपाटीले गरिब, निमुखाहरुलाई नै दैनिकी गुजारा गर्न कठिन हुने उनी बताउँछन्। विरोधको विकल्प बन्द नभइ अन्य सिर्जनशील तरिकाबाट विरोध जनाउन सकिने उनको भनाइ छ।
यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो
प्रतिक्रिया दिनुहोस्