रोशन दिप – मकवानपुरको मनहरी गाउँपालिकामा विश्व सालक दिवसको अवसर पारेर फरेष्ट्री युथ नेटवर्कले मनहरीको डिभिजन वन कार्यालय, राप्तिको सहकार्यमा सालक संरक्षणको लागी गरेको दुई दिने जनचेतना कार्यक्रम सम्पन्न भएको छ।

पहिलो दिन मनहरी गाउँपालिका वडा नं ७ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय र वडा नं ९ स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयका विद्यार्थीलाई सालकको परिचय र संरक्षण बिषयमा ज्ञान दिन चेतनामुलक कार्यक्रम गरियो भने दोस्रो दिन गाउँपालिका वडा नं ९ स्थित मा सडक नाटक, कविता वाचन र ओपन आर्ट एक्जिविसन प्रतियोगिता गरेर समापन गरियो।

फरेष्ट्री युथ नेटवर्कका संयोजक सौगात भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम वन विज्ञान संकाय, हेटौडाका उपप्राध्यापक श्रीहरि भट्टर्राईको प्रमुख अतिथ्यतामा भएको हो भने इभेन्ट संयोजक दिनेश रेग्मी हुन्।

वन विज्ञान संकाय, हेटौडाका उपप्राध्यापक श्रीहरि भट्टर्राईले मकवानपुर जिल्लाको गौरवको जनवारको रूपमा घोषणा गरिएको लोप हुने अवस्थामा रहेको शान्त स्वभावको दुर्लभ वन्यजन्तको सूचिमा रहेको स्तनधारी जनावर सालकको संरक्षण चुनौतिपूर्ण बन्दै गएको बताए ।  सर्वसाधरणमा जनचेतना नहुनु र सालकको खपेटाको बिक्रिका लागि अबैध चोरी सिकार हुनु यसको दुर्लभताको मुख्य कारण रहेको जानकारी दिए । मकवानपुर जिल्लामा सालकको  राम्रो सङ्ख्या रहेको बताउँदै यसको महत्व बुझाउनका लागि सामुदायीक स्तरमा जनचेतना फइल्याउन गरिएको कार्यक्रम प्रभावकारी रहेको बताए।