नेपाली महिला राष्ट्रिय फुटबल टोलीको कथा आक्रमण र गोल मात्र त पक्कै होइन। गोल मात्र गरेर पनि खेल जितिन्न।

आफ्नै पोस्टको पनि सुरक्षा गर्नुपर्छ होला? महिला राष्ट्रिय फुटबल टोलीको चर्चा गर्दा अधिकांस समय अग्रपंक्तिमा गोल गर्ने खेलाडीमै केन्द्रित हुन्छ। तर, त्यस्ता केही खेलाडी पनि छन्, जसले चुपचाप आफ्नो जिम्मेवारी खुबै निभाइरहेका छन्। टिमलाई गति पनि उनीहरूले दिइरहेका छन्। जसमध्येकी एक हुन् एन्जिला तुम्बापो सुब्बा।

फेरि, नेपाली फुटबलमा राष्ट्रिय टोली भनेको पुरुषकै मात्र पनि होइन्, महिलाको पनि छ। तर किन हो, चर्चा बढी पुरुष टोलीकै हुन्छ। फेरि भनौं, त्यस्ता केही खेलाडी छन्, जसले चुपचाप महिला फुटबललाई अगाडि बढाइरहेका छन्। धेरै गुनासो गर्दैनन्, तर आफ्नो काम बढो मज्जाले गरिरहेका छन्।

फेरि तिनमै पर्छिन्, एन्जिला। पछिल्लो एक दशकनजिक नेपाली महिला फुटबलले केही मिठा सफलता अनि केही परिचित असफलता पनि भोगे। तिनका साक्षी पनि एन्जिला नै हुन्।

यी इलामकी चेली नेपाल खेलकुद पत्रकार मञ्चले भर्खरै घोषणा गरेको पिपल्स च्वाइस अवार्ड २०७७ को मनोनयमा पर्न सफल पाँच खेलाडीमध्ये एक हुन्। अबको केही दिनमा महिला राष्ट्रिय लिग सुरु हुन लागेको छ। त्यसैले एपिएफले तयारी गरिरहेको छ। एन्जिला आफैँ पनि अभ्यासमा ब्यस्त छिन्।

एपिएफ उनका लागि अचेल सबथोक हो। यसै दौडधुपबीच आफू पिपल्स च्वाइस अवार्डको मनोनयनमा परेकोमा उनी खुसी छिन्। उनका आफ्नै दाजु विदेशमा छन्, उनले पनि फोन गरेर मनोयनका लागि एन्जिलालाई बधाई दिए। आमा राधिका लामा छोरीको अहिलेको प्रगतिमा खुसी छिन्। एन्जिलाका लागि यो नै खुसीको बहाना बनेको छ।

एन्जिलाले अहिलेसम्म तय गरेको फुटबल यात्रामा तिनै आमाको ठूलो हात छ। फुटबल यात्रा मात्र के र? पूरा जीवनकै यात्राको सबै श्रेय एन्जिला आफ्नी आमालाई दिन मन पराउँछिन्। लगभग १२ वर्षको उमेरबाट फुटबल खेल्न थालेकी एन्जिलाले एक दशकभन्दा बढी समय यसमा बिताइसकेकी छिन्। राष्ट्रिय टिमकै सामीप्य सन् २०१६ यताको हो। एन्जिलालाई खुब नाम कमाउने र आफूले रोजेको क्षेत्रमा उतिकै सफल हुने इख थियो। फुटबल खेलेर नै परिवार, समाज र छिमेकमा उनको इज्जत र शान बढेको छ।

अब एउटा असल छोरीलाई योभन्दा बढी के चाहियो र? एन्जिलाको एक इच्छा भने अझै बाँकी छ र यो उनको मात्र इच्छा होइन्, नेपाली फुटबल मन पराउने सबैको हो। र, त्यो हो, भारतलाई हराउने र स्वर्ण जित्ने। उनी भन्छिन्, ‘जबसम्म यस्तो गर्न सकिन्नँ, केही गरेको जस्तो लाग्दैन।’ विश्वास गरौं, उनको इच्छा पूरा हुनेछ। आखिर उनी नेपाली महिला राष्ट्रिय टिमकी ‘परी’ हुन्, अर्थात् नेपाली गोलपोस्टकी ‘एन्जिला’।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो