बाख्रा चराउन घर नजिकैको जङ्गल पुगेका रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्वर २ का गणेश केसीले बुर्केसल्ला भन्ने स्थानमा एउटा कालो ड्रम भेटाउनुभयो । सँगैका साथीहरुलाई बोलाएर ड्रम हेर्न खोजेका गणेशले शङ्कास्पद वस्तुको पोको देखेपछि डराएर नजिकैको वडा कार्यालयमा खबर गर्नुभयो ।

वडा कार्यालयबाट वडा अध्यक्ष जीवन केसीसहितको एक टोली गएर हेर्दा बम जस्तो बस्तु देखेर शङ्का लागेपछि नजिकैको इलाका प्रहरी कार्यालयलाई खबर गर्नुभयो । प्रहरी आएर निरीक्षण गर्दा सकेट बम रहेको पत्ता लाग्यो ।

त्यस रात प्रहरीले उक्त स्थानलाई निगरानीमा राखेर जिल्लाबाट बम डिस्पोजल टोली बोलायो । कालो प्लास्टिकको ड्रमभित्र लुकाइराखेको अवस्थामा भेटिएका १० वटा सकेट बम जिल्ला सदरमुकाम रुकुमकोटबाट गएको नेपाली सेना र प्रहरीको टोलीले शुक्रबार मात्र डिस्पोज गरेको छ ।

वडाध्यक्ष जीवन केसीले दिउँसो बाख्रा चराउन जङ्गलमा गएका स्थानीयले उक्त बम फेला पारेपछि वडा कार्यालयमा खबर गरेर सम्भावित दुर्घटनाबाट जोगिएको बताउनुभयो । ‘जङ्गलमा लुकाएर राखेको ड्रमभित्र शङ्कास्पद वस्तु देखेर चलाएको भए मानवीय क्षति हुन सक्थ्यो,’ वडाध्यक्ष केसीले भन्नुभयो, ‘हामीले इलाका प्रहरी कार्यालय प्वाङको प्रहरीलाई साथमै लिएर जाँदा सकेट बम नै रहेको पत्ता लाग्यो ।’

दशवर्षे सशस्त्र जनयुद्वको क्रममा तत्कालीन नेकपा माओवादीले लुकाएका बमहरुको अझै पनि सुरक्षित व्यवस्थापन हुन नसकेकाले त्रास बढेको वडा अध्यक्ष केसीले बताउनुभयो । रुकुमका वन पाखामा अहिले पनि जनयुद्वको क्रममा लुकाएर राखेका विस्फोटक पदार्थहरू फेला पर्ने गरेको वडाध्यक्ष केसीले उल्लेख गर्नुभयो ।

बम फेला पारेको स्थान विगतको सशस्त्र द्वन्द्वको क्रममा माओवादीले सेल्टरको रुपमा प्रयोग गर्ने गरेको समेत वडा अध्यक्ष केसीले जानकारी दिनुभयो । यस्तो जोखिमपूर्ण अवस्थाको दीर्घकालीन तथा सुरक्षित व्यवस्थापन जरुरी रहेको उहाँले बताउँनुभयो ।

स्थानीय केशव बिसीले यस्ता खबर सुनेर सर्वसाधारणलाई त्रास हुने गरेको बताउनुभयो । द्वन्द्व सकिएको लामो समय बितिसक्दा पनि बम, बारुदहरु व्यवस्थापन हुन नसक्नु दुःखद रहेको उहाँको भनाइ छ ।

यो त पछिल्लो उदाहरण मात्रै हो । विगतको सशस्त्र जनयुद्धको आधार इलाका मानिएको रुकुममा बेलाबेलामा बम भेटिएका खबर आउने गरेका छन् । विद्रोही माओवादीका लडाकुले बनाएका सेल्टर र बसोबास गरेका ठाउँहरु, सेना र प्रहरीले बनाएका अस्थायी पोष्ट नजिक पनि बमहरु भेटिने गरेका छन् ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो