नेकपा एमालेका सांसद भीमबहादुर रावलले दार्चुला जिल्लाको बंगाबगरमा भारतले एकतर्फी रुपमा तटबन्ध निर्माण गरिरहँदा पनि सरकार नबोल्नु लाजमर्दो विषय भएको टिप्पणी गर्दै सो सम्बन्धमा सरकारले संसदमा जवाफ दिनुपर्ने माग गरेका छन्। आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद रावलले यस्ताे माग गरेका हुन्।

उनले एमसिसी सम्झौता प्रतिनिधि सभाबाट पारित भएपछिको कामहरुको सम्बन्धमा जनतालाई जानकारी दिनुपर्ने पनि माग गरे। एमसिसी सम्झौता प्रतिनिधि सभाबाट पारित भएसँगै नेपाल सरकारले त्यस सम्बन्धमा गरेका कामहरु जनताले थाहा पाउनुपर्ने बताएका हुन्। उनले नेपालको स्वतन्त्र परराष्ट्र नीति परिवर्तन गर्नुपर्ने आवाजहरु उठिरहेको भन्दै त्यस प्रकारको आवाजलाई बन्द गर्न पनि माग गरे।

‘हाम्रो सुदूरपश्चिम प्रदेश दार्चुला जिल्लाको बंगाबगरमा केही दिन अगाडी भारत सरकारले एकतर्फी डोजर चलाउँदा पनि नेपाल सरकार त्यसमा नबोल्नु यो लाजमर्दो कुरा हो। नेपाल सरकारको यसतर्फ गम्भिर रुपले ध्यानाकर्षण गराउँछु। र म माग गर्न चाहान्छु, नेपाल सरकारको तर्फबाट गृहमन्त्रीजी, परराष्ट्रमन्त्रीजीले यो सदनमा आएर नेपाली जनतालाई यसको जवाफ दिनुपर्छ’, उनले भने।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो