सल्यानको छत्रेश्वरी गाउँपालिकाका अधिकांश वडा सडक सञ्जालसँग जोडिएका थिएनन्। साविकका चार वटा गाविस गाभेर बनाइएको छत्रेश्वरी गाउँपालिकाका जनप्रतिनिधिका लागि पहिलो प्राथमिकता सडकको पहुँच पुर्‍याउने थियो।

विकट र कठिन भूगोल रहेको छत्रेश्वरीमा सीमित आर्थिक स्रोतबाट गाउँगाउँमा सडक पुर्‍याउनु चुनौतिपूर्ण काम थियो। गाउँपालिकाले गाउँगाउँमा सडक पुर्‍याउने उपायको खोजी गुर्‍यो। ठेक्का प्रक्रियामार्फत् काम गर्दा बजेटको अभाव हुने देखिएपछि गाउँपालिका आफैले चार वटा स्काभेटर खरिद गर्ने निर्णय गर्‍यो।

अहिले छत्रेश्वरीका सबै ठाउँ सडक सञ्जालसँग जोडिएका मात्रै छैनन्, बाह्रै महिना सडकमा गाडी गुड्न थालेका छन्। छत्रेश्वरी गाउँपालिका–७ साविकको छायाक्षेत्र गाविसका छ वटा मिलेर बनेको वडा हो। यहाँका कुनै पनि गाउँमा पाँच वर्ष अघिसम्म सडकको पहुँच थिएन।

‘पहिले गाडी चढ्न एक घण्टा हिँडेर लहाम पुग्नुपर्दथ्यो,’ स्थानीय धनबहादुर बोहराले भने, ‘अहिले आँगनमै बाह्रै महिना गाडी गुड्छन्, जनप्रतिनिधि आएपछि गाउँको मुहारनै परिवर्तन भएको छ।’ गाउँपालिकाको केन्द्र भोटेचौर आउन मात्रै होइन्, सदरमुकाम श्रीनगर जान पनि उस्तै समस्या थियो।

गाउँको बीचबाटै शंखमुलसम्म १९ किलोमिटर लामो सडक निर्माण भएपछि घुमाउरो र लामो यात्रा गर्नुपर्ने बाध्यता अहिले हटेको छ। ‘अहिले गाउँबाट सार्वजनिक गाडी चढेर सहजै श्रीनगर पुग्न सकिन्छ,’ उनले भने, ‘लुहाम हुँदै श्रीनगर पुग्न सहज भइरहेको छ।’

गाउँमा सडक पुगेपछि धनबहादुरले ट्याक्टर किनेका छन्। ट्याक्टरबाट दैनिक उपभोग्य वस्तुसँगै नदीजन्य पदार्थको ओसार–पसार गर्दछन्। ‘सडकले गाउँघरमै रोजगारी पनि दिएको छ,’ धनबहादुरले भने, ‘पहिले कमाउन बाहिर जानुपर्दथ्यो, अहिले बाहिर रहेकाहरु पनि गाउँ फर्केका छन्।’

वडाध्यक्ष मेघराज भण्डारी सडकसँगै गाउँमा जनताको जीवनस्तरमा उल्लेख्य सुधार आएको बताउँछन्। ‘विकासको पहिलो पल्लिर सडक हो, हामीले त्यहीँ बुझेर गाउँगाउँलाई सडकसँग जोड्यौं,’ उनले भने, ‘अहिले सडककै कारण नागरिकको जीवनस्तरमा उल्लेख्य सुधार आएको छ।’

भण्डारीको वडामा अहिले सडकसँगै विजुली पुगेको छ। घरघरमा खानेपानीका धारा जोडिएका छन्। स्वास्थ्य चौकी र विद्यालय भवन बनेका छन्। गाउँपालिकाले चार वटा डोजरबाट दिनरात सडक निर्माण गरिरहेको छ। छत्रेश्वरीको वडा नं. ४ का गाउँमा पनि सडक सञ्जाल थिएन।

केही ठाउँमा हिउँदमा मात्रै सवारी चल्थे। अहिले शंखमुलदेखि जयचौरसम्म २३ किलोमिटरमा बाह्रै महिना दोहोरो गाडी चल्छ। यो सडकले छत्रेश्वरी गाउँपालिका मात्रै होइन्, छिमेकी जिल्ला रोल्पाको गंगादेव गाउँपालिकासम्म पहुँच पुर्‍याएको छ। गाउँपालिकालाई कडा चट्टान फोडेर दुई लेनको सडक बनाउन चार वर्ष लाग्यो।

वडाध्यक्ष नेवबहादुर खड्का जनतासँग गरेको बाचा आफूहरुले पूरा गरेको बताउँछन्। ‘पाँच वर्षभित्र गाउँमा सडक पुर्‍याउँछौं भन्दा धेरैले पत्याउनु भएको थिएन्,’ उनले भने, ‘गाउँपालिका आफूले डोजर किनेर रातदिन काम नगरेको भए जनतासँग गरेको बाचा पूरा गर्न सक्ने अवस्था हुन्थेन।’

गाउँपालिका अध्यक्ष सन्तोष केसीले पहिलो वर्षको बजेटमार्फत् स्काभेटर (डोजर) खरिद गरिएको र पछिल्ला चार वर्षमा गाउँगाउँमा सडक पुर्‍याइएको बताए। ‘ठेक्का प्रक्रियामार्फत् काम गर्दा समय धेरै लाग्नुका साथै गाउँपालिकाको सीमित बजेटबाट सम्भव नहुने देखिएपछि आफै मेसिन किनेर सडक निर्माण गर्ने योजना बन्यो,’ उनले भने, ‘पहिलो वर्षको बजेटले मेसिन किन्यौं, त्यसपछिका चार वर्ष सडक निर्माणमा खर्चियौं।’

मेसिन अपरेटरलाई गाउँपालिकाले मासिक तलव दिन्छ। तेल पनि आफै खरिद गर्छ। ‘कम खर्चमा गुणस्तरीय काम गर्ने उद्देश्यले मेसिन किन्यौं,’ अध्यक्ष केसीले भने, ‘ठेक्का प्रक्रियामार्फत काम गरिदिएको भए अहिले गाउँपालिकाका आधा सडक पनि निर्माण हुने संभावना थिएन।’

गाउँपालिकाले २८ किलोमिटर लामो शंखमुल–दारीज्यूला–जयचौर–खसुबास सडक एक करोड २५ लाखमै निर्माण सम्पन्न गर्‍यो । १९ किलोमिटर लामो शंखमुल–साङकोट–जीताठान–राङ्सी–पानीखोल सडक निर्माणमा ८५ लाख खर्च भयो। लान्ती–लेखपोखरा–दमाचौर सडक ४० लाखमै निर्माण सम्पन्न भयो।

‘यिनै सडक ठेक्का प्रक्रियामार्फत् सुरु गरेको भए करोडौं रुपैयाँ खर्च हुन्थ्यो, निर्माण सम्पन्न हुने–नहुने भर हुन्थेन्,’ गाउँपालिका अध्यक्ष केसीले भने, ‘हामीले जनतासँग गरेका बाचा पूरा गर्न थियो, त्यहीँ भएर रातदिन गरेर गाउँगाउँमा सडक पुर्‍याउन सफल भयौं।’

गाउँपालिकाले सडकसंगै विशेष गरि धार्मीक क्षेत्रमा धार्मीक पर्यटन आर्कषण गर्नका लागि योजनासहित करोडौं रकम खर्चको छ। धार्मीक क्षेत्रसंगै पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगार लगायतका क्षेत्रमा परिवर्तन देखिने विकास गरेको स्थानीयहरु बताउँछन्।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो