संसद्मा अघि बढाउनै बहुमत नपुग्ने भएपछि शुक्रबार बोलाइएको प्रतिनिधिसभा बैठक पनि स्थगित भएको छ । यसअघि बिहीबार बोलाइएको बैठक शुक्रबारका लागि सारिएको थियो । ‘एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव नै पारित हुने निश्चित नभएपछि सरकारको आग्रहमा दुवै पटक बैठक स्थगन गरिएको हो । प्रतिनिधिसभाको अर्को बैठक आइतबार १ बजेका लागि तय गरिएको छ ।

सम्झौतालाई सोमबारसम्म अनुमोदन गर्ने लक्ष्यका साथ प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारूढ कांग्रेसका नेताहरूले दौडधुप तीव्र बनाएका छन् । सत्तारूढ माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सम्झौताको विपक्षमा देखिएका छन् ।

यी तीन दलका सांसदको संख्या ७३ छ । एक–एक सांसद रहेका राप्रपा र नेमकिपा पनि विपक्षमा छन् । ६१ सांसद रहेको कांग्रेस र १३ सांसद रहेको लोकतान्त्रिक समाजवादी पार्टी सम्झौताका पक्षमा छन् । १९ सांसद रहेको जनता समाजवादी पार्टीले कुन पक्षमा लाग्ने भन्नेबारे शनिबार निर्णय गर्ने भएको छ । ‘बिहीबारको बैठकमा प्रस्ताव राखिएको भए अस्वीकृत गराउने रणनीति बुनेको थाहा पायौं । त्यसैले बैठक स्थगन गर्न आग्रह गर्नुपर्‍यो,’ एक मन्त्रीले भने । ९८ सांसद रहेको एमालेले भदौ २३ देखि सभामुखविरुद्ध नाराबाजी गर्दै संसद् बैठकमा अवरोध गरिरहेको छ ।

कांग्रेस सचेतक पुष्पा भुसालले एमसीसी सम्झौताका पक्षमा बहुमत जुटाउन सरकारले कसरत गरिरहेको बताइन् । ‘प्रक्रिया अघि बढाउनुअघि बहुमत सुनिश्चित गर्न लागिपरेका छौं,’ उनले भने । सरकारले सम्झौता अनुमोदन गर्ने विषयमा सत्ता साझेदार दलहरूका साथै प्रमुख प्रतिपक्ष एमालेसँग पनि वार्ता गरिरहेको छ । प्रधानमन्त्री देउवा आफैंले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हरेक दिन भेटवार्ता गरिरहेका छन् । ‘प्रमुख प्रतिपक्ष एमाले र सत्तारूढ दलको सहमति जुटाउने प्रयास भइरहेको छ,’ कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले भने, ‘बहुमत सुनिश्चित भएपछि सदनमा एमसीसीमाथि छलफल अघि बढ्छ ।’
सत्तारूढ एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले भने एमसीसी सम्झौता अनुमोदन गर्नै नहुने बताउँदै आएका छन् । ‘एमसीसी गम्भीर सवाल हो । यसमा कम से कम नेपाल एकताबद्ध हुनुपर्छ । राष्ट्रिय सहमति हुनुपर्छ,’ उनले भने, ‘जनता, देश जेसुकै होस् एमसीसी पास गर्नुपर्छ भन्ने लाइनमा लागे देश दुर्घटनातिर जान्छ माओवादी, एकीकृत समाजवादी र जनमोर्चाका कार्यकर्ता एमसीसीको विरोधमा सडकमै उत्रिएका छन् । ती दलले पाँचदलीय गठबन्धन जोगाइराख्न गृहकार्य पनि गरिरहेका छन् । माओवादीका मन्त्रीहरूले भने संसद्मा एमसीसी सम्झौता छलफल र निर्णयार्थ प्रस्तुत हुँदा अनुपस्थित रहेर गठबन्धन जोगाउनुपर्ने प्रस्तावसमेत अघि सारेका छन् । नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले सत्ता गठबन्धन जोगाउनका लागि प्रतिनिधिसभा बैठकमा अनुपस्थित रहेर एमसीसी अघि बढाउन कांग्रेसलाई बाटो खोलिदिने प्रस्ताव अघि सारेका छन् ।

यो समाचार कान्तिपुरमा  bata