डा. गणेशप्रसाद घिमिरे

नेपाली साहित्यको इतिहासमा बालकृष्ण सम नाट्यसम्राट्का रूपमा विभूषित हुनुहुन्छ । राणा परिवारमा जन्मेर उहाँले नेपाली नाटकलाई जुन किसिमको योगदान दिनुभयो, त्यसले नेपाली नाटक गतिशील बनेको छ । नेपाली साहित्यमा नाटक अनुवादको जुन परम्परा रहेको थियो, त्यो परम्परा तोडेर आधुनिक नाटकलाई गति दिनुभएका समको जन्म वि.सं. १९५९ माघ २४ गते भएको थियो । जीवनका हरेक सन्दर्भलाई नाटकमा समाहित गर्नुभएका समको साहित्यिक व्यक्तित्व नाटकका माध्यमबाट निखारिएर आएको देखिन्छ ।

कवितामा पनि सफल मानिनुुभएका समको व्यक्तित्वका विविध पाटा सबल रूपमा स्थापित भएर आएका देखिन्छन् । साहित्यका धेरैजसो विधामा कलम चलाउनुभएका समले नेपाली साहित्यलाई मसिनो तरिकाले बुुझ्नुुभएको छ । कविशिरोमणि लेखनाथ पौड्याल, सोमनाथ सिग्द्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटाका सहकर्मी र दाजु पुष्कर शमशेरको सान्निध्यमा हुर्कनुभएका समले नाटक, कविता, आत्मवृत्तान्त, निबन्ध, दर्शनजस्ता विधामा समेत आफ्नो बलियो उपस्थिति देखाउनुभएको छ । उहाँको साहित्यिक व्यक्तित्वका अनेक पाटा बाहिर आएका छन् । ती व्यक्तित्वका पाटाहरूमा नाटककार व्यक्तित्व नै महारथीका रूपमा देखा परेको छ ।

कवि
बालकृष्ण सम एक बौद्धिक कविका रूपमा चिनिनुहुन्छ । उहाँले नेपाली कवितालाई ‘आगो र पानी’ खण्डकाव्य, ‘चिसो चुल्हो’ महाकाव्य दिनुुभयो । यसका साथै केही फुटकर कविता पनि उहाँले नेपाली साहित्यलाई सुम्पनुभएको छ । नेपाली कविताको इतिहासमा ‘आगो र पानी’लाई मिलाउन खोज्नुभएका समले दार्शनिक आधार उक्त खण्डकाव्यबाट प्रस्तुत गर्नुभएको छ । जहाँ आगो हुन्छ, त्यहाँ पानी हाले आगो निभ्छ, जहाँ पानी छ, त्यहाँ आगो बल्दैन । नेपाली कवितामा समले आगो र पानीलाई एकै ठाउँमा राख्ने प्रयास गर्नुभएको छ । आगो र पानीको संयोग गराउन सक्ने खुबी समको उक्त काव्यले देखाएको छ । आगो र पानीको सहयात्राले जीवन गतिशील हुने र जीवनले कोल्टे फेर्न सक्ने सन्दर्भलाई समले गतिलो तरिकाले राख्नुभएको छ, उक्त खण्डकाव्यमा । यही हो– समको साहित्यमा देखिएको नौलोपन ।

महाकाव्यमा लक्ष्मीप्रसाद देवकोटाको ‘शाकुन्तल (२००२)’, सोमनाथ सिग्द्यालको ‘आदर्श राघव (२००५)’, कविशिरोमणि लेखनाथ पौड्यालको ‘तरुण तपसी (२०१०)’ आइसकेको अवस्थामा कवि समले ‘चिसो चुल्हो (२०१५)’ ल्याउनुभयो । उहाँको महाकाव्य नेपाली समाजको त्यो प्रतिविम्ब थियो, जहाँ समाजको सामाजिक अवस्था खल्बलिएको छ । २०१५ सालमा नै उहाँले गौरी (क्षेत्री) र सन्ते (दमाई)को प्रेम गराएर नेपाली समाजमा क्रान्ति ल्याइदिनुभयो । तत्कालीन समाजको सामाजिक अवस्थाबाट एउटा तल्लो वर्गको पात्रलाई उठाएर काव्यमा समाहित गर्नु सजिलो थिएन । समले यो समाज विविधतायुुक्त छ र सन्तेजस्तो व्यक्ति पनि महाकाव्यको नायक बन्न सक्छ भन्ने कुरालाई प्रमाणित गरिदिनुभयो । यही थियो– समको कवितामा देखा परेको क्रान्तिकारिता । महाकाव्यको नायकलाई समले आफूभित्र रहेको दर्शनको भारी बोकाउनुभयो, जसले गर्दा सन्ते उठ्नै नसक्ने गरी काव्यमा लडेको छ ।

समले फुटकर कविता पनि लेख्नुभएको छ । उहाँका कवितामा बौद्धिकताको खुराक पाठकले भेट्छन् । बौद्धिकताको जलपले कवितालाई रङ्गाएर बाहिर ल्याउनु समको कवित्वको पहिचान हो । बौद्धिकताको रापमा रापिएर आएका उहाँका कविताले पाठकको मनभन्दा मस्तिष्कमा गहिरो प्रभाव पारेका हुन्छन् । यही पहिचानले देवकोटा, सिग्द्याल, पौड्यालभन्दा भिन्न देखिनुहुन्छ सम कवितामा ।

नाटककार
अनुवादको परम्परामा जीवन्त रहेको नेपाली नाटकलाई बालकृष्ण समले आधुुनिकताको जामा पहिराउनुुभयो । संस्कृतका नाटक अनुुवाद गरेर नेपाली नाट्य परम्परालाई अगाडि बढाइरहेको अवस्थामा समको उदय भएको हो । नेपाली समाजको सामाजिक चित्र उहाँको पहिलो नाटक ‘मुटुको व्यथा (१९८६)’ले उतारेको छ । मुटुको व्यथामा उहाँ जुम्ला पुग्नुहुन्छ र काठमाडौँका गल्लीमा चहार्नुुहुन्छ । यो समको नाटकीय विशेषता पनि हो । मञ्चीय दृष्टिले कमजोर रहे पनि उहाँका नाटक चलचित्रका दृष्टिले सबल देखा परेका छन् । पहिलो नाटक ‘मुटुको व्यथा’को प्रकाशनबाट नाटकमा देखिनुभएका सम नेपाली नाटकलाई सबल बनाउने नाटककारका रूपमा चिनिनुहुन्छ ।

कथावस्तुका दृष्टिले सामाजिक, ऐतिहासिक, पौराणिक नाटक लेख्नुभएका सम समाज, इतिहास र धर्मग्रन्थमा चहार्नुुहुन्छ । पौराणिक मान्यतालाई पनि नाटकीय तरिकाबाट बाहिर ल्याउन सक्ने खुुबी सममा देखा परेको छ । समाजको मान्यतामा पतिको प्रेममा दृढ रहेकी नारीको चरित्रलाई उहाँले ‘मुकुन्द इन्दिरा’ नाटकबाट बाहिर ल्याउनुुभएको छ । पवित्रता डगाउन खोज्ने मुकुन्दलाई सम्बोधन गर्दै इन्दिरा भन्छे–

देशभक्ति त मर्दैन चुत्थै देश भए पनि ।
पतिभक्ति त मर्दैन पापी पति भए पनि ।।

कति गहिरो रहस्य खोतलेकी छ इन्दिराले । उसको अभिव्यक्तिमा देशप्रेम छताछुल्ल भएर भरिएको छ भने पतिव्रता नारीको अस्तित्व डगाउन कसैले पनि नसक्ने भावलाई बताएकी छ । यो सममा खाँदिएर भरिएको राष्ट्रवाद हो । मुटुको व्यथामा समले पवित्रताको भावलाई तोड्नुभएको छ । पवित्र मनले माधवसित प्रेम गरेकी कोपिला शनकसित विवाह सूत्रमा बाँधिएकी छ । दुःखपूर्ण जीवन बिताउने ऊ भन्छे–

दुःखीको घरमा मात्रै तेरो बास हुने भए ।
हे ईश्वर ! दया राखी मलाई अझ दुःख दे ।।
यो कोपिलाको अभिव्यक्तिमा देखिएको गतिलो अभिव्यक्ति हो । यही अभिव्यक्तिले नाटकको सुुन्दरतामा गतिलो भाव भरेको छ । पौराणिक कथावस्तुुलाई लिएर प्रह्लाद नाटक लेख्नुभयो । प्रह्लादमा समले कर्मप्रतिको विश्वासलाई गहिरो तरिकाले अभिव्यक्त गर्नुभएको छ ।

ज्ञान विज्ञानले हात जोड्नुपर्छ कर्ममा ।
ज्ञान हाँसेर मर्दछ विज्ञान रोई मर्दछ ।।

कर्र्मप्रतिको कस्तो विश्वास सममा । आजको युग विज्ञानले सजिएको युग हो । विज्ञानको चमत्कारले हामी सबल बनेर बाहिर आयौँ । अणु र परमाणु बमले सजिएका छौँ । समले त्यो कुरा पहिले नै भनिदिनुभयो । विज्ञानको अन्तिम परिणति संहार हो । ज्ञानको अन्तिम परिणति मोक्ष वा निर्वाण हो । कति गहिरो भाव, गतिलो चेतना । यही चेतना र भावले समलाई नेपाली नाटकको शिखर पुुरुष बनाएको छ । नेपाली नाटकमा तत्कालीन नेपाली समाजका पात्रलाई टपक्क टिप्नुुभयो र सहज तथा स्वाभाविक तरिकाले थपक्क राख्नुभयो । नेपाली समाजको विविधतामा समले नाटकका माध्यमबाट विविधता भरिदिनुभयो । त्यसैले समलाई नेपाली नाटकको इतिहासमा नाट्यसम्राट्का रूपमा राखिएको हो । उहाँले नेपाली नाटकलाई जुन किसिमको गुन लगाउनुभयो, उत्तरवर्ती पुस्ताले कहिल्यै बिर्सन सक्दैन ।

गद्यकार
जीवन नियमित होइन, आकस्मिक पनि हो । यो आकस्मिकतामा नियमितता सदा छ भन्ने धारणा समले राख्नुभएको छ । दर्शनलाई लिएर लेखिएको उहाँको कृति ‘नियमित आकस्मिकता’ हो । उहाँले पश्चिमा दर्शनका माध्यमबाट जीवनलाई हेर्नुभएको छ उक्त कृतिमा । पूर्वको दर्शनका केही पाटालाई केलाएर जीवनलाई आकस्मिक मान्नुभएको छ नियमिततामा पनि । गहिरो दार्शनिक पृष्ठभूमिमा आएको उक्त कृतिलाई समको दर्शन भनेर चिन्ने गरिन्छ ।

‘मेरो कविताको आराधना’मा उहाँले कविताको आराधना गर्नुभएको छ । कवितालाई देवी मानेर गरिएको आराधनामा उहाँले जीवनमा भोगेका, देखेका, बेहोरेका, पाएका सबै कुरालाई राख्नुभएको छ । समको गद्यले पनि उहाँका भावनालाई बाहिर ल्याएको छ । नेपाली साहित्यमा प्रायःजसो धेरै विधामा कलम चलाउनुभएका सम नेपाली साहित्यका महारथी मानिनुहुन्छ ।

समले कोरेको नाटकको गोरेटो आज चक्रेटो बनेको छ । उहाँपछि पनि विभिन्न नाटककार आउनुुभएको छ । उहाँहरूका सिर्जनामा मौलिकता, नाटकीयपन, कथावस्तुको विविधता बगेको छ तर समले कोर्नुभएको गोरेटोमा समर्पित नाटककारले समको जस्तो गहिराइ, भाषाको मिठास, कथावस्तुको विविधता दिन सकेका छैनन् । आज मञ्चनको व्यवस्थालाई आधार मानेर लेखिएका नाटकले नेपाली नाटकको फूूलबारी मगमगाएको छ । आजका नाटक सरल, सहज, मञ्चीय दृष्टिले भरिएका छन् । समाजका सामाजिक मान्यतामा विद्रोहको स्वर उरालेर आएका छन् । ती नाटकले नेपाली नाटकमा नयाँपन थपेका छन् ।

सम नेपाली नाटकका सिद्धहस्त र पारखी व्यक्ति मानिनुहुन्छ । उहाँका नाटकमा नेपाली समाजको सग्लो चित्र उतारिएको हुन्छ । इतिहासका प्रसिद्ध व्यक्तिलाई नाटकको नायक बनाउनुुभएको छ । पौराणिक पात्रलाई ल्याएर नाटकमा पर्गेल्नुभएको छ । उहाँले पर्गेलेका पात्र खरा, सबल, सफल बनेर आएका छन् । उहाँको मृत्यु भने वि.सं. २०३८ साउन ६ गते भएको थियो ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो