


एक सय पचास वर्षअघिदेखि भारतका लाखौँ जनता ‘कुटीको के चासो, मुलुक पनि छोड्छन् दर्दले’ भनेझैँ हजारौँ माइल टाढा बसाइँ सरेको इतिहास छ।
पेट पाल्न अंग्रेजका चियाबगानका मजदूर भए, लाखौँ भारतीय सिलोन (हाल श्रीलंका) र मलाया (मलेसिया) पुगे। अस्ट्रेलिया नजिकैको सानो टापु फिजी पुगे। म्याडागास्कर, दक्षिण अफ्रिका र ट्रिनिडाडलगायतका क्षेत्रमा पुगे।
आफूलाई नेपाली मूलको बताउने नोबेल पुरस्कार विजेता विद्याधर (भिएस नयपाल) काशीमा शिक्षक पेसामा आबद्ध सुरजप्रसाद नेपालका छोरा हुन्। अन्वेषक पूर्णप्रकाश नेपाल यात्रीले धेरै वर्षअघि भिएस नयपाल पाल्पाली बाहुन नै हुन् भनेका थिए।
दुर्भाग्यको बादल फाटेपछि सौभाग्यको सूर्योदय उदाउँछ। केही पुस्ताले कष्ट गरे पनि संस्कार नष्ट गरेनन्। त्यसैले अनुशासन, ज्ञान र सत्कर्मको त्रिवेणीमा जन्मिए, जगत्प्रसिद्ध ज्ञानी भारतीयहरू। केही राष्ट्रमा उनीहरू राष्ट्रपति, प्रधानमन्त्री, कुलपति, साहित्यकार, वैज्ञानिक र प्रख्यात उद्योगपति भए।
ब्रिटेन, सिंगापुर, अमेरिका, मलेसियादेखि पचासौँ राष्ट्रमा भारतीय मूलका मानिस राजनीतिका उच्च तहमा छन्। नेपालमा पनि दिल्ली गोत्रका राजनीतिकर्मी प्रशस्तै छन्। तीमध्ये धेरैजसोलाई जनताले जता पैसा मिल्छ, उतै समर्पित हुने नगरवधूका रूपमा बुझेका छन्। उनीहरू मात्र होइन, केही शक्ति राष्ट्रको भक्ति देखाएर जीवन चलाउने हजारौँ छन्।
विद्वान्हरूको तर्क घतलाग्दो छ। उनीहरू भन्छन्, शारीरिक मानसिक, बौद्धिकलगायतका व्यक्तिगत गुण–दोषले हरेक मानिस विषम वा बेग्लै हुन्छ। ‘डेमोक्रेसी भएपछि सबै बराबर हुन्छन् भन्ने कुरा असत्य र निराधार छ।’ आर्थिक अवसर, सामाजिक सम्मान, राजनीतिक हकले मानिस–मानिसको दूरी घटाउन मद्दत गर्छ तर विश्वका महाप्रबन्धक ईश्वरले पनि सबैलाई ‘बराबर’ गर्न सक्दैनन्।
स्वार्थको द्वन्द्वले गर्दा फ्रेन्च क्रान्तिपछि युरोपमा धनी र दरिद्रहरूबीच दूरी कसरी बढ्यो? वर्ग संघर्षको वृक्ष होइन, जंगल नै फैलियो, किन? नेपालमा त साम्यवादी र दक्षिणपन्थी शक्ति एउटै शरीर र दुई मुख भएको भारन्ड चरा जस्ता छन्। एउटा मुखले विष निल्यो भने अर्को मुख जीवित रहँदैन। यो बुझेका विदेशी शक्तिले जुम्ल्याहा छोराछोरीलाई काखमा राखेर विदेशी द्रव्य खुवाइरहेकै छन्। आहारविहारअनुसार चरित्र निर्माण हुन्छ भनिएको छ, भागवतगीतामा।
२००७ सालपछि अधिकांश दलको चरित्रमा तात्विक अन्तर देखिँदैन। पानीभित्रको माछाको आँखामा ताकेर बाँण हान्ने अर्जुनको दृष्टिझैँ दलको ‘अर्जुनदृष्टि’ सत्तामा मात्रै छ। राष्ट्र र जनताको बृहत्तर हित उपेक्षामा छ। सुनको जलप लगाएको पित्तलभन्दा फरक छैन मार्गचित्र। समस्याको जरो (मूल) उखेलेर निर्मूल बनाएपछि मात्र समाधान आउँछ। प्रथम महायुद्ध पहिलेको इतिहास पढ्दा युरोपमा फैलिएको अविश्वास नै युद्धको प्रमुख कारण र मनोवैज्ञानिक समस्या थियो।
दोस्रो विश्वयुद्धको नजिक पुग्दा उत्तरी अफ्रिकाको कायरो (इजिप्ट) देखि सुदूर दक्षिणको केप टाउनसम्म अफ्रिकी एकता प्रबल हुँदै थियो। ब्रिटेनको विशाल साम्राज्यमाथि चुनौतीको घनघटा छाएको थियो।
जर्मन साम्राज्यमाथि प्रश्नैप्रश्न थिए। फ्रान्स र जर्मनको खानदानी दुस्मनी छँदै थियो। बाल्कन राज्यहरू शक्तिका गाडधन र ‘पावर बक्स’ थिए। पश्चिम एसियामा फैलिनका लागि जर्मनीले टर्कीसँग ‘दोस्ती’ गर्यो। कन्स्टेन्टीनोपलबाट युरोपसम्म बगदादको रेलमार्ग फैलिन नदिन जर्मनीले चातुर्य देखायो।
जर्मनी, इटाली, अस्ट्रिया एउटा स्वार्थको मालामा उनिए। राष्ट्रिय इष्र्या अन्तर्राष्ट्रिय भयो। युद्ध निश्चित हुँदै जाँदा व्यक्ति, समाज र राष्ट्र भयाक्रान्त बन्छ। मंगल कार्य हराउँछ। राष्ट्रको पतन सुरु हुन्छ। महाभारतमा युधिष्ठिरले भनेका छन्– राष्ट्र पतनका चौध संकेत छन्। जनताको मुहारमा खुसी हराउँछ र भय छाउँछ। राष्ट्र नै प्रशन्न हुने मंगलकार्य हुँदैनन्। जताततै अनिश्चितता र अराजकता देखिन थाल्छ।
म कहिलेकाहीँ मेरा मंगोलियन साथीहरूसँग ठट्टा गर्दै भन्छु–“तिमीहरू सूर्योदयदेखि सूर्यास्तसम्म हाँस्दै रमाउँदै काममा व्यस्त रहन्छौ। सबैको हित चिताउँछौ। कसैलाई मन, वचन र कर्मले चित्त दुखाउँदैनौ। केही अपवादबाहेक मंगोलले भिख माग्दैन। साहस, इमान र पसिनामा रमाउँछन्। त्यसैले तिमीहरू ‘मंगल जाति’ हौ। गोराहरूले कुरै नबुझी ‘मंगोल’ भनिदिए।
सम्भवतः संसारकै एकमात्र ‘किरातेश्वर महादेव’ (काठमाडौँ) एउटा उपमा मानिन्छ। व्रह्मा, विष्णु र महेश (महादेव) का बारेमा अध्ययन गरेका पश्चिमी राष्ट्रका विद्वान्हरूले हिमालय पर्वतमाला र वरिपरको क्षेत्र प्राचीन सभ्यताको मुहान भनेका छन्। नूतन–पुरातन होइन, अनन्तकाल पुरानो सनातन संस्कृति बुझेपछि मात्र महादेव (शिव, अर्थात कल्याण) बुझ्न सकिन्छ। हजारौँ साल पुराना ग्रन्थहरू अध्ययन गरेका पुर्खाहरूले विश्वका सबै नातागोता वा कुटुम्व रहेछन् भन्ने स्वीकारेको पाइन्छ। बसुधा (धर्ती) मा बसोबास गर्ने सबै समेट्छ, ‘वसुधैव कुटुम्बकम्’ मन्त्रले।
जात, गोत्र, वर्ण, गाउँ, अर्थव्यवस्था र पेसाको विभाजन राष्ट्र खण्डित गर्ने र राष्ट्रवासीलाई दण्डित गर्ने दुराशयको उपज होइन। यो भनेको कार्यविभाजन मात्रै हो। सामाजिक मर्यादाको सोपान पनि हो। गोरखा दरवार नजिकै घर भएका हेमबहादुर शाहले पच्चीस वर्षअघि गोरखा दरवारकै आँगनमा कथा सुनाएका थिए, पृथ्वीनारायण शाहको। सात आठ वर्षका पृथ्वीनारायण साथीहरूको लैलैमा लागेर बेँसीतिर उखु चोर्न गएछन्। साँझपख एकजना किसानले राजा नरभूपालासँग गुनासो गरेछन्– ‘हजुरका जेठा छोरा हजुरको शेषपछि हाम्रा राजा हुन्छन्। चोर्ने बानी लाग्यो र यस्तै उपद्रो गर्ने हो भने त प्रजाले कसरी रुचाउँलान् त?’
गुनासो सुनेपछि पृथ्वीनारायणलाई हाजिर गराइयो। उनले भूल स्वीकार गर्दै अबदेखि प्रजाको चित्त नदुखाउने प्रण गरे। किसान पनि खुसी भएर गए। भनिन्छ, नरभूपालले तीन मोहर क्षतिपूर्ति पनि दिएका थिए। राज्यले विधिपूर्वक उठाउने करबाहेक छलकपट वा जबर्जस्ती गरेर प्रजाको केही नलिने राजाहरूको संस्कार रहेछ भन्ने यो एउटा उदारहण हो।
नेपाल एकीकरणपछि नेपाल दरवारभित्र शक्तिको प्रतिस्पर्धा, गुटबन्दी र षडयन्त्र भएका घटनाबारे इतिहास नै बोल्छ। नालापानी (देहरादून) युद्ध ठूलो भूल थियो। गृहकार्य, तयारी वा आवश्यक सामग्रीको जोहो नगर्दा नेपालले युद्धमात्र हारेन, झण्डै चालीस प्रतिशत भूभाग गुमायो, सन् १८१४ को नेपाल–अंग्रेज युद्धमा। त्यसैले ‘राष्ट्रिय शक्ति’ अदृश्य रहेको वर्तमान र भविष्यका कहालिलाग्दो तस्बिर ‘कल्पना’ वा भयको प्राक्कथन होइन, ‘हुनामी’ नै हो। समयमै चेतना जागृत नभए त्यसपछि भोग्ने सुनामी नै हो।
नाजुक वा कमजोर बन्दै गएको राष्ट्रमा राज्यसंयन्त्र अनुत्तरदायी हुन्छ। राष्ट्र र जनताले भोगिरहेका समस्याप्रति सरकार बेखबर बन्छ। प्रतिभाशालीहरूले अपमान भोग्नुपर्छ। इमानदारको मूल्य हुँदैन। ४९ प्रतिशत सज्जन र योग्य भए पनि बहुमत अर्थात ५१ प्रतिशत जनता मूर्ख छन् भने उनकै हुकुम चल्छ। राष्ट्रिय सुरक्षासमेत त्यस्तै बहुमतबाट निर्देशित हुन्छ। ब्रेन अर्थहीन हुन्छ र टाउको गनेर त्यसैलाई वैध मानिन्छ। बाह्य हस्तक्षेपलाई बहुमतले स्वीकार गर्दा सार्वभौमसत्ता कमजोर बन्छ। त्यो बेला अवश्य काठमाडौँ काबुल बन्छ।
सफल र असफल राष्ट्र छुट्याउने कसी वा इन्डेक्सका बारेमा विवाद छ। केही प्रभावशाली राष्ट्रले स्वार्थपूर्तिका लागि सफल र असफलको अपव्याख्या गरेका छन्। भौतिक सुख पर्याप्त नभए पनि मानिस खुसी हुन सक्छ। तसर्थ सुखी सफल कि खुसी सफल? बहस चलिरहेकै छ।
बमले सहर र गाउँहरू खरानी भए पनि राष्ट्र पुनः उठ्न सक्छ। जापानदेखि भियतनाम उदाहरण छन्। पार्टीहरूले ‘पार्ट–पार्ट’ बनाएर हाम्रो एकता, प्रेम, विश्वास टुटाउन समय र धन खर्च गरेका छन्। हजारौँ वर्षअघिदेखि साझा संस्कृतिमा रमाएका हिमाल, पहाड र तराईमा आज डँढेलो सल्काउन करोडौँ डलर खर्च भएको सुरक्षाका अधिकृतहरू स्वीकार गर्छन् तर बुल्डोजर चलाउन चाहँदैनन्।
राष्ट्र गए पनि जागिर रहोस् भन्ने ‘प्रबल चेतना’ जताततै व्याप्त छ। कोही टाढाका, कुनै नजिकका मित्र राष्ट्रहरू नेपाललाई ‘मृत राष्ट्र’ बनाउन अहोरात्र लागेका छन्। उनकै तन्त्रमन्त्रले नेपालका कैयन् जान्नेसुन्नेहरू इन्द्रजालमा परेका देखिन्छ।
हामीले इतिहासमा पढेको सुमेरियन सभ्यताबाट के पाठ सिक्यौँ? उत्तरी क्षेत्रका जनताले दक्षिण मेसोपोटामियालाई ‘सभ्य राजाहरूको भूमि’ अर्थात सुमेर भन्थे। एक घन्टामा साठी सेकेन्ड हुन्छ भनेर सौर्य मण्डलको अध्ययनका आधारमा कालगणना सिकाउने उनै हुन।
ज्ञानीजनहरूलाई राजाहरूले पर्याप्त धनसम्पत्ति दिएर अध्ययन–अनुसन्धान गराएपछि सुमेरियन क्यालेन्डर संसारमा फैलियो। त्यसको आधारमा निमेष, सेकेण्ड, घन्टा, घडी, पला सबै समेटेर पात्रो बनाइयो। धेरै राष्ट्रले यसलाई राजाको पात्रो भन्थे। इशापूर्व दुई हजार नौ सय वर्षपहिले नै स्थापित सुमेरियन सभ्यताका धेरै कुरा हराए तर आज पनि संसारका गणितज्ञहरूले राजाको पात्रो अस्वीकार गर्न सकेका छैनन्।
पश्चिमी राष्ट्रका ज्ञानीहरूले राष्ट्रियता, राष्ट्रवाद, धर्म संस्कृति, परम्परा आदिका बारेमा महत्वपूर्ण ग्रन्थ लेखे, उनीहरूकै इतिहासको आँखिझ्यालबाट हेरेर। कतिपयले राष्ट्रवादको अपव्याख्या गरेका छन्। एक्काइसाैँ शताब्दी प्रारम्भ हुनुअघि संसारमा देखिएको उथलपुथलले ‘राष्ट्र सर्वोच्च हुन्छ’ भन्ने हजारौँ वर्ष पुरानो मान्यता पुनर्पुष्टि गरेको छ। सुडान, इथियोपिया, इन्डोनेसिया आदिदेखि बाल्कन क्षेत्रमा ‘मेरो माटो’ भन्दै पुर्खाले बचाएका परम्परा, धर्म, संस्कृति र एकताका सूत्रहरूमा युवा वर्गले चासो दिइरहेका छन्।
डा. रमेशकुमार ढुंगेल त्रिभुवन विश्वविद्यालयमा कार्यरत छँदा नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास) द्वारा हिमाली जिल्लामा गरिएको अध्ययनमा प्राचीन गुम्बाहरूभन्दा चर्चहरू धेरै भेटिएको प्रतिवेदन तयार पारियो।
जनजाति उत्थानका नाममा दर्ता भएका एनजिओहरूलाई हर्ताकर्ता बनाएर थारू, किराती, शेर्पा, मगर, गुरुङलगायतका धेरै जातजातिका प्राचीन धर्म, मान्यता, संस्कृति र परम्परा भत्काइँदैछ। बर्षमा दुईचार पल्ट जातीय पहिचानका नाममा नृत्य, भोज र रमाइलो गरिए पनि जरैबाट कुहिँदै गएको संस्कृति जोगाउन हम्मेहम्मे देखिन्छ। युक्रेनमा रसियाले अग्निप्रहार गरेझैँ नेपालका हरेक क्षेत्रमा तीस/बत्तीस वर्षयता युद्धस्तरमा हमला भइरहेका छन्। एक–अर्कालाई होचो देखाउन विदेशीले जे सिकाए, हामी त्यही गरिरहेका छाैँ।
कुनै राष्ट्रलाई युद्ध नगरेर पनि जित्नु छ भने भाषा, धर्म, मूल्य/मान्यता र राष्ट्रिय एकता क्षतविक्षत बनाउनुपर्छ पर्छ भनेका छन्, पश्चिमका षडयन्त्रकारीले। नेपालमा त्यही भइरहेको छ। राष्ट्रलाई सशक्त वा ‘काबिल’ बनाउँदैन यो दुर्वुद्धिले, तर कावुल भने पक्कै बनाउँछ।
प्रतिक्रिया दिनुहोस्