हेटौंडा । मकवानपुर होटल एशोसिएसनको आयोजनामा १२औँ सडक खाना महोत्सव पुस १३ देखि १६ गतेसम्म हुने भएको छ। “सडकमै जाउँ, सडकमै खाऊँ, सडकमै रमाऔँ” भन्ने नाराका साथ आयोजना हुने महोत्सवले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्नुका साथै नेपाली जातीय तथा सांस्कृतिक खानाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्य लिएको आयोजकले जनाएको छ।

बुधबार  पत्रकार सम्मेलनको आयोजना गर्दै होटल एशोसिएसन मकवानपुरका अध्यक्ष दिलिश गोविन्द जोशीले सडक खाना  महोत्सवको बारेमा जानकारी गराएका छ्न् । पुस १३ गते सुरु हुने सडक खाना महोत्सव कार्यक्रमको उद्घाटन संस्कृति तथा पर्यटन विकास मन्त्री सुरेश श्रेष्ठले गर्ने छ्न् ।  महोत्सव हुप्राचौर खेलमैदानदेखि पूर्वतर्फको उत्तर–दक्षिण सडक क्षेत्रमा आयोजना हुने अध्यक्ष जोशीले बताए ।

महोत्सवमा करिब ६० वटा स्टल रहनेछन्, जहाँ परम्परागतदेखि आधुनिक स्वादका विभिन्न खाना तथा नास्ता उपलब्ध हुनेछन्। साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरूको नृत्य, गायन र लाइभ ब्याण्ड प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछ । खानाको गुणस्तर, सरसफाइ र सुरक्षामा विशेष ध्यान दिइने आयोजकले जनाएको छ।

महोत्सव अवधिभर शौचालय, फोहोर व्यवस्थापन, एम्बुलेन्स, दमकल तथा आकस्मिक उपचार सेवा उपलब्ध गराइनेछ। चार दिनसम्म चल्ने महोत्सवमा स्थानीय, बाहिरी जिल्ला तथा छिमेकी मुलुकबाट ३० देखि ४० हजार दर्शक सहभागी हुने अनुमान गरिएको छ। स्टलहरूबाट ७० देखि ८० लाख रुपैयाँसम्म कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सव सम्पन्न गर्नका लागि करिब १६ लाख रुपैयाँको बजेट खर्च हुने अनुमान गरिएको छ ।

रातो समाचार संवाददाता
थप जानकारी