रोशन दिप – मकवानपुरमा लोकसेवा आयोगको तयारी गरिरहेका विद्यार्थीहरूले सरकारी जागिरका स्थायी पदमा नयाँ भर्ना विज्ञापन रोक्ने निर्णयको विरोध गर्दै जिल्ला प्रशासन कार्यालय, मकवानपुर मार्फत सरकारसँग पाँच बुँदे माग राखेका छन्।

मुख्य सचिवको अध्यक्षतामा २०८३ साउन ४ गते बसेको सचिवस्तरीय बैठकको निर्णय नम्बर ११को स्थायी पदपूर्ति रोक्ने निर्णयले हजारौँको संख्यामा लोकसेवा तयारीगर्दै गरेका युवाको भविष्य अन्योलमा पारेको आरोप समेत लगाएका छन्।

उक्त निर्णय तत्काल पूर्ण रूपमा खारेज गरी लोकसेवा आयोगको वार्षिक कार्यतालिका अनुसार नियमित रूपमा विज्ञापन, परीक्षा र पदपूर्ति प्रक्रिया सञ्चालन गर्नुपर्ने विद्यार्थीहरूको माग रहेको छ।

पत्रमा उल्लेखित मागहरु यस प्रकार छन् ।

१ मिति २०८३-०४-०४ गते भएको सचिव स्तरिय बैठकको बुँदा नं ११ लाई पूर्ण रुपमा खारेज गरियोस् ।

२ लोकसेवा आयोगको बार्षिक कार्यतालिका अनुसार नियमित रूपमा परिक्षा र पदपुर्ति प्रक्रिया समयमै सन्चालन गरियोस् ।

३ रिक्त दरबन्दीमा समयमै खुल्ला प्रतियोगिता बाट स्थायी पदपुर्ति गरियोस् ।

४ विद्यार्थीको माग पूर्णरुपले सम्बोधन गरियोस् ।

५ राजनीतिक नियुक्ति खारेज गरियोस् ।

 

विद्यार्थीहरूले आफुहरुको मागलाई सरकारले गम्भीरता पूर्वक नलिए थप चरणबद्ध आन्दोलनका तयारी गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन्।

सन्देश पटेल कुर्मी, मनोज यादव, अंकुश कुमार यादव, सोशिल पटेल, चन्दन कुशवाहा, पप्पु साह, रामसागर यादव, दिलीप कुमार जैसवाल, ओमप्रकाश कुशवाहा, सेशनन्दन कुशवाहा, दिपेन्द्र दास, लाल बिहारी महतो, संजय साह, गणेश मण्डल, नरेन्द्र राम, किशनानन्द साह, प्रदीप महतो, संजय प्रसाद चौरसिया, मनिष कुमार साह, सुशील कुमार यादव, कुन्दन प्रसाद यादव, दिलीप कुमार पटेल, अभिमन्यु यादव, दिपेन्द्र मुखिया, नवीन कुमार यादव, सेदिव कुमार महतो, बिपिन महतो र बिबिसा रुम्बा लगायतका लोकसेवा आयोगको तयारी गरिरहेका विद्यार्थीहरूले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा बुझाएका हुन्। ज्ञापनपत्र लोकसेवा तयारीरत केही युवाहरूको संयुक्त हस्ताक्षर रहेको छ।

सरकारको यस विषयमा कुनैपनि आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन। विद्यार्थीहरूले बुझाएको ज्ञापनपत्रमा सम्बन्धित निकायमा पठाइने जिल्ला प्रशासन कार्यालय, मकवानपुरले जनाएको छ।