- युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलिन्स्किी र उत्तर एटलान्टिक सन्धी सङ्गठन, नाटोका महासचिवबीच फोनवार्ता भएको छ । उहाँहरुका बीचमा युक्रेनलाई आगामी दिनमा नाटोले गराउने आवश्यक सहयोगका बारेमा कुराकानी भएको बताइएको छ । मङ्गलबार उहाँहरुका बीचमा फोनवार्ता भएको थियो । वार्ताका क्रममा युक्रेनका राष्टपति जेलिन्स्किीले नाटो महासचिव जेन्स स्टोलटेन्बर्गलाई युक्रेनको वर्तमान अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । त्यस अवसरमा उहाँले यसै वर्ष भएको ‘म्याड्रिड समिट २०२२’ मा भएको सहमति बमोजिम युक्रेनले हतियार प्राप्त गर्नुपर्ने विषयमा पनि स्मरण गराउनुभएको युक्रेनका राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ । युक्रेनमाथि रुसले आक्रमण गरेपछि केही महिनादेखि रुस र युक्रेनका बीचमा द्वन्द्व जारी रहेको छ । युद्धका कारण युक्रेनको आर्थिक अवस्था निकै कमजोर बन्दै गइरहेको बताइएको छ । त्यस कुराकानीका क्रममा राष्ट्रपति जेलिन्स्किीले युक्रेनले नाटो संगठन तथा नेटोका सदस्य राष्टहरुबाट ठूलो हतियारहरुको अपेक्षा गरिरहेको जानकारी दिनुभयो । स्पेनको राजधानीमा हालै भएको ‘म्याड्रिड समिट २०२२’ मा युक्रेनलाई हातहतियारका साथै इन्धन, सञ्चार प्रविधिमा सहयोग गर्ने सहमति भएको थियो । –––रासस























प्रतिक्रिया दिनुहोस्