म्यान अफ द म्याच अनिष महर्जनलाई पुरस्कार प्रदान गरिँदै ।

हेटौंडा । सर्लाही जिल्लाको बागमती युथ क्लबले ललितपूरको चर्च ब्वाइज युनाइटेडलाई स्तब्ध पार्दै पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौं संस्करणको राष्ट्रिय बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । आइतबार बागमती गाउँपालिका वडा नम्बर–४,झुरझुरेस्थित सहिद स्मृति रंगशालामा भएको क्वार्टरफाइनल खेलमा बागमती युथ क्लबले साविक विजेता समेत रहेको चर्च ब्वाइज युनाइटेड क्लबलाई २–१ गोलले पराजित गरेको छ । यस अघि बिहीबार भएको आफ्नो पहिलो खेलमा आयोजक बागमती खेलकुद विकास समितिलाई बागमती युथ क्लबले ३–० गोल अन्तरले पराजित गरेको थियो ।

चर्च ब्वाइजबाट सुशन मगरले पहिलो हाफको ११ औं मिनेटमा गोल गर्दै सुरुवात अग्रता दिलाएका थिए । बागमतीका युथ क्लबका लागि अनिष महर्जनले पहिलो हाफकै २८ मिनेटमा गोल गर्दै खेललाई १/१ गोलको बराबरी स्थितिमा पु¥याएका थिए । १/१ गोलको बराबरीको स्थितिमा पुगेको अवस्थामा दोस्रो हाफको ८८ औं मिनेटमा टिम कप्तान आयुष मगरले अन्तिम एक गोल गर्दै खेललाई २–१ गोल अन्तरको अग्रतामा पु¥याएका थिए । त्यसपछि बागमती युथ क्लबको जीत सुनिश्चित भयो ।

बागमती युथ क्लब सर्लाहीको टिमको सामूहिक तस्बीर ।

खेलको प्लेयर अफ द म्याच बागमतीका लागि पहिलो गोल गरेका अनिष मर्हजन घोषित भएका छन् । महर्जनलाई गाउँपालिकाका अध्यक्ष म्यान अफ द म्याचको १० हजार रुपैयाँको नगद पुरस्कार तथा ट्रफी हस्तान्तरण गरे । बागमतीले बुधबार फाइनल प्रवेशका लागि सेमीफाइन खेलमा ललितपूरको फ्रेण्डस क्लब र काठमाडौंको प्लानिङ ब्वाइज युनाइटेडको टिमसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । पतियोगिताको फाइनल खेल यही आउँदो शनिबार हुनेछ ।

प्रतियोगिताको उपविजेता टिमले १० लाख रुपैयाँसहित, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने र उपविजेता टिमले ५ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १ लाख १ हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीहरुलाई २५–२५ हजार रुपैयाँ प्रदान गरिने छ ।