रोशन दिप – केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुरको आयोजनामा जारी उपमेयर हेटौंडा नगरकप भलिबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । हेटौंडा–४,स्थित हुप्रचौरमा शुक्रबारबाट सुरु भएको प्रतियोगिता अन्तर्गत शनिबार पुरुषतर्फको क्वार्टरफाइनल चरणको खेलहरु सम्पन्न भएसँगै सेमीफाइनल समीकरण पूरा भएको हो भने महिलातर्फ क्वार्टरफाइनल चरणको एक खेल सम्पन्न भएको हो । पुरुषतर्फको पहिलो क्वार्टरफाइनल खेलमा वडा नम्बर–४ लाई १९–२५, २५–२१ र १५–१० को सेटले वडा नम्बर–११ ले पराजित गरेको छ भने दोस्रो खेलमा वडा नम्बर–५ लाई २५–२२ र २५–१८ को सेटले वडा नम्बर–१७ ले पराजित गरेको छ । यस्तै क्वार्टरफाइनल चरणको तेस्रो खेलमा वडा नम्बर–६ लाई २५–१५ र २५–१८ ले वडा नम्बर–१९ ले पराजित गर्दा चाथौं क्वार्टरफाइनल खेलमा वडा नम्बर–१२ ले वडा नम्बर–७ लाई २५–१२ र २५–२० को सेटले पराजित गरेको छ ।
यस्तै, महिलातर्फको खेलमा वडा नम्बर–११ लाई २५–१७ र २५–१८ को सेटले हराउँदै वडा नम्बर–९ सेमीफाइनलमा प्रवेश गरेको छ भने समूह चरणको दोस्रो खेलमा वडा नम्बर–१७ ले वडा नम्बर–११ लाई २५–१५ र २५–१० पराजित गरेको छ । पुरुषतर्फ आइतबार सेमीफाइनल चरणको खेलहरु सञ्चालन हुनेछ भने महिलातर्फ समूह चरणको अन्तिम खेल तथा सेमीफाइनल चरणको खेलहरु सञ्चालन हुनेछ । सोमबार फाइनल खेल हुने प्रतियोगिताका संयोजक नरेन्द्र मुक्तानले जानकारी दिए । हेटौंडा उपमहानगरपालिकाको प्रयोजनमा सञ्चालन भएको प्रतियोगितामा पुरुषतर्फ ८ वटा वडा र महिलातर्फ ६ वटा वडाको सहभागिता रहेको संयोजक मुक्तानले बताए ।
प्रतियोगिताको उपाधि विजेता टिमले ७५ हजार रुपैयाँ, उपविजेता टिमले ५० हजार रुपैयाँ र सान्त्वना हुनेले २० हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागततर्फका खेलाडीहरुलाई पनि पुरस्कार प्रदान गरिने छ ।


















प्रतिक्रिया दिनुहोस्