हेटौंडा । आठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगितामा काठमाडौंको चित्लाङ फुटबल क्लबले विजयी शुरूवात गरेको छ । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी राष्ट्रिय बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत बागमती-४,झुरझुरेस्थित सहिद स्मृति रङ्गशालामा शनिबार भएको आफ्नो पहिलो खेलमा खेलमा चित्लाङ एफसीले एपीएफलाई २-१ गोलले पराजित गरेको छ ।
चिल्ताङका लागि विदेशी खेलाडी सोलोमन किङले खेलको ११ औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए । एरोन थापाले दोस्रो हाफको ६० औं मिनेटमा दोस्रो गोल गरे । एपीएफका बुद्धिमान राईले ४७ औं मिनेटमा गोल गरेपनि हारबाट जोगाउन सकेनन् । प्लेयर अफ द म्याच चित्लाङका लक्ष्मण थापा घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरे ।
मंगलबार चित्लाङले सेमीफाइनल प्रवेशका लागि साविक उपविजेता मछिन्द्रसँग सामना गर्नुपर्नेछ । मछिन्द्र बागमती गोल्डकपको छैठौं संस्करणको विजेता पनि हो ।
प्रतियोगिता अन्तर्गत आइतबार बैशाख २० गते सातौं संस्करणको विजेता चर्च ब्वाइज र सर्लाहीको बागमती युथबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको सेमिफाइनल खेल २३ गते र २४ गते हुनेछ भने फाइनल खेल बैशाख २६ गते हुनेछ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र विधागत उत्कृष्टहरुले २५-२५ हजार रुपैयाँ प्राप्त गर्नेछन्



















प्रतिक्रिया दिनुहोस्