हेटौंडा । हेटौंडा–१०,स्थित टिसिएन चौरमा यही शुक्रबारबाट सुरु हुन लागेको दोस्रो खेलकुद, कृषि तथा पर्यटन महोत्वसको तयारी अन्तिम चरणमा पुगेको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिको अयोजनामा हुन लागेको खेलकुद, कृषि तथा पर्यटन महोत्सवको लागि आवश्यक तयारी पुरा गर्न लागिएको आयोजकले जनाएको छ ।गत भदौ महिना भएको जेनजी आन्दोलनको क्रममा जिल्ला खेलकुद विकास समिति मकवानपुरको भवनमा भौतिक क्षति पुगेको थियो ।

खेलकुद भवनलाई पुनःस्थापना गर्न तथा खेलकुद सामग्री खरिद एवम् खेलकुद क्षेत्रको विकासका लागि महोत्सवको आयोजना गर्न लागेको खेलकुदका अध्यक्ष राजकुमार मोक्तानले जानकारी गराएका छन् । हाल महोत्सव हुने टिसीएन चौरमा घेराबारासहित स्टल निर्माण, खेलकुद प्रतियोगिता आयोजनास्थलको मर्मत सम्भार लगायतका कार्य भइरहेको खेलकुदका अध्यक्ष राजकुमार मोक्तानले बताए ।

 

महोत्सवबाट आम्दानी हुने बजेटले खेलकुदको भवन निर्माण गर्ने उनले बताए । महोत्सवका लागि करिब ८० लाख रुपैयाँको बजेट खर्च हुने आयोजकको अनुमान रहेको छ । ४ सयवटा व्यावसायिक स्टल रहने महोत्सवमा खेल, व्यापार, कृषि र पर्यटनलाई एउटै थलोमा जोड्ने उद्देश्य राखिएको उनको भनाई छ ।

 

महोत्सवमा राष्ट्रिय महिला भलिबल, राष्ट्रिय तेक्वान्दो, जिल्लास्तरीय पुरुष भलिबल, ब्याडमिन्टन र कराँते प्रतियोगिता, १० किलोमटिर महिला तथा पुरुष दौड प्रतियोगिता सञ्चालन हुने उनले बताए । उनका अनुसार महोत्सवमा विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन, दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारबाट सांगीतिक प्रस्तुति समेत रहने खेलकुद विकास समितिका सदस्य मदन उप्रेतीले बताए । खेलकुद महोत्सवमा खेल क्षेत्रका १० जनालाई जनही नगद २५ हजार रुपैयाँसहितम सम्मान समेत गर्ने आयोजकको तयारी रहेको छ । खेलकुद विकास समितिले यसअघि पनि महोत्सवको आयोजना गरेको थियो । महोत्सवबाट बचेको रकम खेलाडीको हितका लागि कोषमा राखिएको छ ।

 

रातो समाचार संवाददाता
थप जानकारी