हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–७, नागस्वतीस्थित तासिर इंग्लिस बोर्डिङ्ग स्कूलले पहिलो संस्करणको अखिल (क्रान्तिकारी) कप यु–१६ ७ ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मंगलबार हेटौंडा–५,पिप्लेस्थित पिप्ले–क्याम्पा रंगशालामा भएको फाइनल खेलमा रस्सल एकेडेमी बोर्डिङ्गलाई १–० गोलले हराउँदै तासिर इंग्लिस बोर्डिङ्ग स्कूलले १६ वर्ष उमेर समूहको अखिल क्रान्तिकारी कप विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधि चुमेको छ ।
उपाधि जितेसँगै तासिर इंग्लिस बोर्डिङ्ग स्कूलले १५ हजार रुपैयाँको नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता बनेको रस्सल बोर्डिङ्गले १० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी तासिर बोर्डिङ्गका अक्षय डंगोल, गोलरक्षक तासिरका सुदन मैनाली, सर्वाधिक गोलकर्ता तासिरकै एलेक्स आचार्य घोषित हुँदै मेडल तथा ट्रफी पुरस्कार प्राप्त गरेका छन् ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मकवानपुरको आयोजनामा सोमबारबाट सुरु भएको प्रतियोगितामा हेटौंडाको ८ वटा विद्यालयहरुको सहभागिता रहेको थियो । गत वर्षको असोज १२ गतेको अविरल वर्षाको कारणले गएको पहिरोमा परेर ज्यान गुमाउने किशोर खेलाडीहरुको सम्झनामा विद्यालस्तरीय फुटबल प्रतियोगिताको आयोजना गरिएको हो ।
अखिल (क्रान्तिकारी) मकवानपुर जिल्ला अध्यक्ष बुद्धराज अर्यालको अध्यक्षतामा तथा प्रदेशकी पूर्व समाजिक विकास मन्त्री तथा प्रदेश सभा सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यमा कार्यक्रमको समापन भएको थियो । माओवादी केन्द्रका महाधिवेशेन आयोजक समिति सदस्य विजय गौतम, जिल्ला समन्वय समिति मकवानपुर संयोजक भीम पाख्रीन, बागमती प्रदेश सचिवालय सदस्य वीर बहादुर घलान (ज्वाला) सदस्य बिवेक राई लगायतको उपस्थिति रहेको थियो ।
यस्तै, आजै मंगलबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा हेटौंडा–५,स्थित सिद्धार्थ शिश ुसदन बोर्डिङ्गलाई ट्राइब्रेकरमा २–० गोलले हराउँदै तासिरले फाइनको यात्रा पूरा गरेको थियो भने दोस्रो सेमिफाइनल खेलमा हेटौंडा–९,स्थित माउण्ट एभरेष्ट एकेडेमीलाई ४–१ गोलले हराउँदै रस्सल एकेडेमीले फाइनलको यात्रा पूरा गरेको थियो । पहिलो प्रतियोगिताको खेलको निर्धारित समय खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

















प्रतिक्रिया दिनुहोस्