हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले महिला पत्रकार प्रजनन स्वास्थ्य तथा सुरक्षित सुत्केरी प्रवद्र्धन कोषको शुभारम्भ गरेको छ । बिहीबार महासंघको सभाहलमा आयोजित तीज विशेष कार्यक्रममा महिला पत्रकारहरूको प्रजनन स्वास्थ्य उपचार र सुरक्षित सुत्केरी प्रवद्र्धनका लागि सहयोग गर्ने उद्देश्यले सुरक्षित सुत्केरी कोषको स्थापना गरेको हो । हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले सुत्केरी कोषको शुभारम्भ गरेकी हुन् । सुत्केरी कोषका लागि उपमहानगरपालिकाले ५ लाख रुपैयाँ अनुदानको व्यवस्था गरेको छ ।

नगर प्रमुख लामाले महिला पत्रकारहरूको प्रजनन स्वास्थ्य र सुरक्षित सुत्केरीका लागि महासंघले कोष स्थापना गरेकोमा खुशी व्यक्त गरेकी छिन् । महासंघले स्थापना गरेको कोषले महिला पत्रकारहरूको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन् । उनले कोषमा आफूले व्यक्तिगत रुपमा १० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरिन् ।

नगर उपप्रमुख राजेश बानियाँले महिला पत्रकारहरूका लागि यो कोष सञ्चालन गर्नु ऐतिहासिक कदम भएको धारणा राखे । उनले पनि महिला पत्रकारहरुका लागि स्थापना गरेको कोषमा १० हजार हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका थिए । महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी र ब्रोडकस्टिङ एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष उज्ज्वल चौलागाईंले पनि कोषमा १०÷१० हजार रुपैयाँ सहयोगको घोषणा गरेका छन् । कार्यक्रममा वरिष्ठ पत्रकार प्रताप विष्ट र पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान उपाध्यक्ष सम्झना कार्कीले २÷२ हजार रुपैयाँ सहयोग गरेका छन् ।

महासंघ मकवानपुर शाखाको कार्यसमितिबाट ११ हजार रुपैयाँ संकलन गरेर कोषमा राखिएको अध्यक्ष बालकृष्ण अधिकारीले बताए । कोषले मकवानपुरका महिला पत्रकारहरूको प्रजनन स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण टेवा पु¥याउने अपेक्षा गरिएको छ । कार्यक्रममा स्वास्थ्यकर्मी महासंघ मकवानपुरको तर्फबाट पत्रकार महासंघका लागि स्यानीटरी प्याड, सुत्केरी महिला पत्रकारका लागि खाद्य सामग्री प्रदान गरिएको थियो । सहयोगी मन नेपालले पनि महासंघलाई ब्लड प्रेस नाप्ने उपकरण सहयोग गर्नुका साथै प्रत्यक सुत्केरी पत्रकारलाई ५ लिटर तेल सहयोग गर्ने घोषणा गरेको छ ।

रातो समाचार संवाददाता
थप जानकारी