चुरियामाई–५ निलो जर्सीमा र चुरियामाई–६ खैरो जर्सीमा ।

हेटौंडा । हेटौंडा–१५ वडा खेलकुद विकास समितिको आयोजनामा जारी तेस्रो संस्करणको वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधिका लागि साविक चुरियामाई–५ र साविक चुरियामाई–६ बीच प्रतिस्पर्धा हुने भएको छ । हेटौंडा–६,स्थित गौरीटार रंगशालामा जारी खेलमा सेमीफाइनल चरणको अन्तिम खेलहरु सम्पन्न भएसँगै चुरियामाई–५ र चुरियामाई–६ बीच प्रतिस्पर्धा हुने टुंगो लागेको हो । फाइनल खेल भोलि दिउँसो ३ बजेबाट सुरु हुने आयोजक समितिले जानकारी दिएको छ ।

आइतबार भएको पहिलो सेमीफाइनल खेलमा चु्रियामाई–५ ले ३–१ गोल अन्तरले टाइब्रेकरमा चुरियामाई–३ लाई पराजित गरेको छ । खेलको निर्धारित समय २÷२ गोलको बराबरीमा रोकिएपछि नतीजाका लागि टाइब्रेकरको सहारा लिनुपरेको थियो । चुरियामाई–३ को तर्फबाट फत्यमान घले र अनिश लामाले समान एक÷एक गोल गरेका थिए । चुरियामाई–५ बाट सुरेश वाइबा र बाबुराम डिम्डुङ्गले बाराबरी गोल गरेका थिए । खेलको म्यान अफ द म्याच विजेता टिमको गोलरक्षक सन्देश थापा मगर घोषित भएका छन् ।

यस्तै, आइतबार भएकै दोस्रो सेमीफाइनल खेलमा चुरियामाई–६ ले १–० गोलले चुरियामाई–७ लाई पराजित गरेको छ । विश्व लामाको निर्णायक गोलमा चुरियामाई–६ ले फाइनलको यात्रा पूरा गरेको हो । खेलको म्यान अफ द म्याच विश्व लामै घोषित भएका छन् । प्रतियोगिता सम्पन्न गर्नका लागि ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । दोस्रो संस्करणको अन्तरवडास्तरीय फुटबल प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाका १७ वटा वडाहरुको सहभागिता रहेको थियो भने १२ नम्बर वडा उपाधि विजेत बनेको थियो ।

प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । १५ नम्बर वडा कार्यालयको आर्थिक प्रयोजनमा भएको प्रतियोगितामा ७ वटा टिमहरुको सहभागिता रहेको थियो ।

रातो समाचार संवाददाता
थप जानकारी