.वीरगंज महानगरपालिका १६ स्थित रजतजयन्ति चोकबाट टी मिडिया प्रा.लि. द्वारा सञ्चालित निगरानी अनलाइन डटमको प्रेस कार्ड बोकेका मकवानपुर जिल्लाको हेटौंडा उपमहानगर ४ निवासी गोपाल स्याङ्गतानलाई लागूऔषधसहित प्रेस लेखिएको गाडीबाट  प्रेस कार्ड सहित नियन्त्रणमा लिएको छ ।

यसै विषयमा जानकारी दिदै टी मिडिया प्रा.लि. निगरानी अनलाइनका अध्यक्ष अध्यक्ष आदर्शसिंह थोकरले समातिएका व्यक्ती आफ्नो मिडियाको नाम दुरुपयोग गरेको बताएका छन् ।

 

थोकरले समातिएका व्यक्ती आफ्नो मिडियामा नभएको र अवैध कारोबार गर्ने व्यक्तिले अनलाइनको नाममा नक्कली परिचयपत्र बनाई प्रयोग गरेको बताएका हुन् ।

 

मिडियासँग चारचक्के कुनै पनि गाडी नरहेको र गोपाल स्याङ्गतान निगरानी अनलाइनमा कार्यरत पनि नरहेको जानकारी दिदै निगरानी अनलाइनमा आबद्ध कर्मचारीहरूसँग नेपाल सरकारद्वारा जारी गरिएको प्रेस कार्ड मात्रै रहेको बताएका हुन् ।
मिडियाबाट अन्य प्रकारको परिचयपत्र आफूहरू प्रदान नगरेको बताए ।

………
आइताबार एक विज्ञप्ति जारी गर्दै अवैध कारोबारमा संलग्न केही व्यक्तिहरूले आफ्नो अनलाइनको नाम दुरुपयोग गरेकोमा आफूहरुको गम्भीर अध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्ती यस्तो छ :

प्रेस विज्ञप्ति
मिति : २०७९/१२/१९
‘निगरानी अनलाइन डटकम’ को प्रेस लेखिएको गाडीबाट पर्सा प्रहरीले प्रतिबन्धित लागुऔषध बरामद गरी चालकलाई पक्राउ गरेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
बा ७ च ४६४२ नम्बर भएको सेन्ट्रो कारमा वीरगंज महानगरपालिका वडा नं. १६ रजतजयन्ती चोकबाट पक्राउ परेका मकवानपुर जिल्ला हेटौंडा उप-महानगरपालिका- ४ निवासी गोपाल स्याङ्गतानले यस निगरानी अनलाइनको गम्भीर दुरुपयोग गरेकोमा हामी आश्चर्यचकित भएका छौं । आफू संलग्न नै नरहेको मिडिया हाउसको नाम सेन्ट्रो कारमा लेख्नु र नक्कली प्रेस कार्डसमेत बनाई लागुऔषधको कारोबार गर्नु गम्भीर अपराध हो ।
यस मिडियासँग चारचक्के कुनै पनि गाडी नरहेको पनि हामी स्पष्ट पार्न चाहन्छौं । साथै गोपाल स्याङ्गतान निगरानी अनलाइनमा कार्यरत रहेका छैनन् । निगरानी अनलाइनमा आबद्ध कर्मचारीहरूसँग नेपाल सरकारद्वारा जारी गरिएको प्रेस कार्ड मात्रै रहेको छ । यसबाहेक अन्य कुनै परिचयपत्र हामीले प्रदान गरेका छैनौं ।
हामी स्वच्छ पत्रकारितामा विश्वास गछौं । हामी समाज परिवर्तनको लागि पत्रकारिता गर्नुपर्छ भन्ने मान्यतामा विश्वास राख्छौं । पत्रकारिताका माध्यमबाट समाजका आपराधिक प्रवृत्तिको अन्त्य हुनुपर्छ । भ्रस्टाचार, अवैधधन्दा, कालोबजारीको अन्त्य नै हाम्रो अनलाइनको मुख्य धेय हो । हामी सभ्य समाज निर्माणका लागि अनलाइनबाट कलम चलाइरहेका छौं । हाम्रो अनलाइनका नाममा कसैले असभ्य काम, अवैध क्रियाकलाप गर्छ भने त्यो हामीलाई मान्य हुने छैन । त्यस्ता क्रियाकलाप हाम्रा दृष्टिमा अक्षम्य अपराध हो । यस्ता कियाकलापमा संलग्न जोसुकै भए पनि कडाभन्दा कडा कारबाही हुनुपर्छ ।
हाम्रो स्वच्छ पत्रकारितामा आँच पुऱ्याउन खोज्ने, हामीलाई बदनाम गराउन खोज्ने व्यक्तिहरूलाई कारबाही हुनुपर्छ । यस्ता क्रियाकलापमा संलग्न व्यक्तिहरुबाट समाज सधैँ दूषित भइरहन्छ । तसर्थ यस अनलाइनका नाममा नक्कली कार्ड बनाई अवैध क्रियाकलापमा संलग्न गोपाल स्याङ्तानलाई नेपाल सरकारको कानुनअनुसार कडाभन्दा कडा सजायका लागि माग गर्दछौं ।

 

वीरगंज १६ स्थित रजतजयन्ति चोकबाट प्रहरीले निगरानी अनलाइन डटमको प्रेस लेखिएको गाडीबाट प्रतिबन्धित लागूऔषधसहित नियन्त्रणमा लिएको थियो ।
स्याङ्गतानले चलाइरहेको बा ७ च ४६४२ नम्बर भएको सेन्ट्रो कारबाट २४० थान नाईट्रोभेट ट्याब्लेट, १०० एमएलको १९८ बोत्तल ओनेरेक्स र नेपाली ६५ हजार रुपैयाँ नगदसहित नियन्त्रणमा लिइएको हो।
सिमावर्ती भारतीय शहर रक्सौलबाट नेपाल आएको गाडीमाथि प्रहरीले चेकजाँच गर्दा लागूऔषध र नगद अनि साथबाट निगरानी अनलाइनद्वारा जारी गरिएको प्रेस कार्डबाट पनि भेटिएकोथियो।लागूऔषध र नगदसहित स्याङ्गतानलाई नियन्त्रणमा लिएर उनिमाथि लागूऔषध सम्बन्धि मुद्दा चलाई अदालतबाट म्याद थप गर्ने प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।