हेटौंडा । हेटौंडा–१०,स्थित टिसीएन चौरमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको आफ्‌नो पहिलो खेलमा श्री केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान बागमती प्रदेशले र दोस्रो खेलमा काठमाडौंको टिपटक न्यू डाइमण्ड स्पोर्टस् क्लबले जीत निकालेको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा जारी दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवमा सञ्चालन भइरहेको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान बागमती प्रदेशले मधेश प्रदेशको जनशक्ति युवा क्लबलाई र दोस्रो खेलमा काठमाडौंको टिपटक न्यू डाइमण्ड स्पोर्टस् क्लबले आयोजक मकवानपुर जिल्ला भलिबल संघलाई ३–० को सोझो सेटले पराजित गरेको छ ।

बिहिबार भएको पहिलो खेलमा केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान बागमती प्रदेशले मधेश प्रदेशको जनशक्ति युवा क्लबलाई पहिलो सेटमा २५–१३, दोस्रो र तेस्रो सेटमा २५–१० ले सहजै पराजित गरेको छ । यस्तै, दोस्रो खेलमा टिपटक न्यू डाइमण्ड क्लबले आयोजक मकवानपुर जिल्ला भलिबल संघलाई पहिलो र दोस्रो सेटमा २५–६ ले पराजित गर्दा तेस्रो सेटमा २५–११ ले सहजै तरिकाले पराजित गरेको छ ।

लिगको पहिलो खेल खेलेको केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र टिपटक न्यू डाइमण्ड क्लबको १/१ जीत निकालेको छ भने लिगको २ खेल खेलेको जनशक्ति युवा क्लबले १ जित निकालेको छ । यस्तै, लिगको २ खेल खेलेको आयोजक मकवानपुर जिल्ला भलिबल संघले टिमले दुबै खेलमा व्यहोरेको छ । यो हारसँगै आयोजक मकवानपुर जिल्ला भलिबल संघ सेमीफाइनलको यात्रा तर्य गर्न नपाउँदै प्रतियोगिताबाट बाहिरिएको छ । यस अघि बुधबार भएको आफ्‌नो पहिलो खेलमा आयोजक मकवानपुर पाल्पाको स्टेप भलिबल क्लबसँग २५–६,२५–२१ र २५–२३ को सेटले पराजित भएको थियो भने दोस्रो खेलमा मधेश प्रदेशको जनशक्ति युवा क्लबले कोशी प्रदेशको ब्राइट फ्यूचर स्पोट्र्स क्लबलाई २५–२२,११–२५–२४–२६ र २४–२६ ले पराजित गरेको थियो ।

शुक्रबार लिगको अन्तिम खेलहरु सञ्चालन हुनेछ भने शनिबारबाट सेमीफाइनल चरणको खेलहरु सुरु हुनेछ । पहिलो खेलमा न्यू डाइमण्ड स्पोर्टस् क्लब र पाल्पाको स्पेट भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा केशवलाल स्मृति प्रतिष्ठान र ब्राइट फ्यूचर स्पोर्टस् क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिगको खेलबाट विजेता र उपविजेता बन्ने टिमले सेमीफाइनलको यात्रा पूरा गर्नेछन् । प्रतियोगिताको फाइनल खेल आइतबार हुने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले प्रथम ३ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले २ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै सेमीफाइनलमा पराजित हुने दुई टिमले ५० हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत तर्फका खेलाडीहरुलाई ट्रफि, मेडल, प्रमाण पत्र र नगद प्रदान गरिने छ । प्रतियोगितामा ६ वटा राष्ट्रिय टिमहरुको सहभागिता रहेको छ ।

रातो समाचार संवाददाता
थप जानकारी