हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ कार्यालयको आयोजनामा जिल्लास्तरीय पुरूष शिक्षक दौड र महिला शिक्षक स्लो स्कुटी रेस प्रतियोगिता हुने भएको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको व्यवस्थापनमा माघ १६ गते सहिद दिवसका दिन हेटौंडामा प्रतियोगिताको आयोजना हुन लागेको हो ।

प्रतियोगितामा सहभागी जनाउनेले माघ १५ गते भित्र नाम दर्ता गरिसक्नुपर्ने जनाइएको छ ।

४ नम्बर वडा कार्यालयबाट सुरू हुने दौड पारिजातपथ हुँदै कान्तिराजपथबाट भैरवरोड पुगेर पुनः वडा कार्यालयमा आईपुग्ने जानकारी दिएको हो ।

३ किलोमिटरको दौड प्रतियोगीता हुने बताउदै प्रतियोगिातमा प्रथम हुनेलाई ७ हजार, द्वितीय हुनेलाई ५ हजार तृतीय हुनेलाई ३ हजार चौथो हुनेलाई १ हजार रूपैयाँ पुरस्कार प्रदान गरिने जनाएइको छ ।

स्लो स्कुटी रेस तर्फ प्रथम हुनेले ७ हजार, द्वितीय हुनेले ५ हजार, तृतीय हुनेले ३ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
दौड प्रतियोगीतामा १५० जाना शिक्षक र स्लो स्कुटीमा करिब ७० जना सहभागी हुने अनुमान आयोजकको छ ।

सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरूले प्रतियोगितामा सहभागी हुन र सेवा निवृत्त शिक्षकहरूलाई पनि दौडमा सहभागी गराइने शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहालले जानकारी दिए ।

शनिबार हेटौंडामा गरिएको पत्रकार सम्मेलनमा बोल्दै ४ नम्बर वडामा कभर्डहल, भलिबल कोर्ट, एथ्लेटिक्स ट्रयाक निर्माणमा वडा कार्यालयले सहयोग गरेको ४ नम्बर वडाका अध्यक्ष नविन सिग्देलले बताएका छन् ।

उनले खेलकुदमा सबै निकायको महत्वपुर्ण भूमिका हुर्नेपर्ने बताए ।

खेल तथा खेलाडीलाई प्रोत्साहन गर्न शिक्षा र खेलकुदमा पनि भौतिक पुर्वाधारमा सरह बजेट विनियोजन गर्न पहल गरिने उनले बताएका हुन् ।

प्रतियोगितामा प्राविधिक तर्फ भरपुर सहयोग रहने एथ्लेटिक्स संघका केन्द्रीय सदस्य प्रभाकर पाण्डेले प्रतिबद्वता जनाए ।

जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्गीले ४ नं. वडा कार्यालयले खेलक्षेत्रमा ध्यान दिएसंगै खेलकुद गतिविधि बढाउन बिभिन्न तर्फकाट सहयोग आएपनि समितिले भने यस्ता कार्य गर्न नसकेकोमा दुःख व्यक्त गरे ।